नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको बिदाइ भएको छ।
मंगलबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले एआइजी ज्ञवालीलाई बिदाइ गरेका हुन्।
एआइजी ज्ञवाली उमेर हदले बुधबार (भदौ २६) गतेदेखि सेवानिवृत्त हुँदैछन्। ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ।
सरकारले ऐनमा अवकाशमा जाने प्रावधान नबनाएको र नियमावलीमा भएको व्यवस्था अनुसार उमेर हदले गर्दा अवकाशमा जाने भन्दै एआइजी ज्ञवालीसहित पाँच जनाले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए।
एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश जारी गरेन।
आदेश जारी नभएसँगै एआइजी ज्ञवाली अवकाशमा गएका हुन्।
प्रधान कार्यालयमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै आइजिपी कुँवरले सेवा निवृत्त भएका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे।
कुँवरले ज्ञवालीलाई मायाको चिनो प्रदान गरेका थिए।
ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए।