दाङ, तुलसीपुरका १४ वर्षे किशोरकिशोरी रोशनी महतरा र शरद आचार्यको मृत्युसँग सम्बन्धित घटनामा संलग्न भनिएका चार जनाविरूद्ध उच्च अदालत तुलसीपुरले क्षतिपूर्ति दायरा थपिदिएको छ।
मंगलबार उच्च अदालत तुलसीपुरले घटनामा संलग्न भनिएकामध्ये चार जनालाई जिल्ला अदालतको जनही पाँच वर्षको कारावास सजाय सदर गरे पनि क्षतिपूर्ति रकम बढाएको हो। जिल्ला अदालतले २०८० भदौ २६ गते चार जनालाई जनही पाँच वर्ष काराबास सजाय र ५० हजार जरिवाना फैसला सुनाएको थियो।
त्यो फैसला चित्त नबुझेपछि पीडितका परिवारहरू २०८० चैत १८ गते उच्च अदालत तुलसीपुरमा जिल्लाको फैसला पुनरवलोकनको मागसहित पुगेका थिए। सोही मुद्दामा मंगलबार उच्च अदालतले जिल्लाले तोकेको जनही पाँच वर्ष कारावासको सजाय सदर गर्दै जरिवाना रकम भने प्रतिव्यक्ति तीन लाख रूपैयाँ भराउन फैसला गरेको हो।
उच्च अदालतका नायब सुब्बा हरिबहादुर राम्जाका अनुसार चार जना हरेकले किशोर र किशोरीको परिवारलाई डेढ/डेढ लाख रूपैयाँ बुझाउनुपर्ने फैसला भएको छ। यो फैसलासँगै अब मृतकका परिवारले कुल ६/६ लाख पाउने भएका छन्।
२०७९ असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर रोशनी र शरदले एकै साथ ज्यान गुमाएका थिए।
त्यो घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्कीलाई जिल्ला अदालतले जनही पाँच वर्ष काराबास सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको थियो।
घटनामा संलग्न भनिएकामध्ये सुरूमा जिल्ला अदालतले विद्युतीय धराप थाप्न सिकाउने स्थानीय हरिबहादुर आचार्यसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अदालतले आचार्यलाई तत्कालीन समय मतियारका रूपमा पुर्पक्षमा पठाएको थियो। केही समयपछि आचार्यलाई भने धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो। अदालतले तोकेको धरौटी बुझाएर उनी रिहा भएका थिए।
मंगलबार उच्च अदालतले आचार्यलाई भने सफाइ दिएको नायब सुब्बा राम्जाले बताए।
रोशनी र शरदको शव तुलसीपुर– १३ स्थित जनकल्याण सामुदायिक वनमा एकै ठाउँमा पुरेको अवस्थामा २०७९ असोज ३० गते दिउँसो फेला परेको थियो।
हाल सजाय भुक्तान गरिरहेका चार जनाले त्यो ठाउँमा बँदेल मार्न भनी असोज २४ गतेदेखि नै नजिकैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप थापेका थिए।
उनीहरूमध्ये अम्मरराज र हरिशचन्द्र पौडल २०७९ असोज २८ गते बिहान साढे ५ बजेतिर बँदेल मार्न थापेको धराप हेर्न गएका थिए। त्यहाँ शरद र रोशनीलाई मृत अवस्थामा देखेपछि उनीहरूले सल्लाह गरी शवहरू झाडीमा लुकाएका थिए। सोही दिन दिउँसो हरिशचन्द्रले शव व्यवस्थापन गर्ने ठाउँ हेरेका थिए र बेलुका नौ बजेतिर चारै जनाले बोरामा शव हालेर एकै ठाउँमा पुरेका थिए।
शव व्यवस्थापनपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोबाइल र चप्पल जंगलको झाडीमा फालेका थिए।
तुलसीपुर– १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्य एकै स्कुलमा पढिरहेका थिए। राति एकअर्कालाई भेट्न निस्केको समयमा विद्युतीय धरापमा परी उनीहरूले ज्यान गुमाएका थिए।