स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूको सुरक्षाका लागि कानुन संशोधनको तयारी गरेको छ।
उपचारका सिलसिलामा चिकित्सकहरूमाथि आक्रमण हुने घटना बढेका थिए।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक दोस्रो संशोधन मस्यौदा तयार गरेको हो। उक्त मस्यौदा कानून मन्त्रालयमा राय माग गर्दै पठाइएको छ।
प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाइने विषय समेटिएको छ।
बिरामीको उपचारका क्रममा बेलाबेलामा आफूहरूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै चिकित्सकहरूले लामो समयदेखि सुरक्षा माग गर्दै आएका थिए।
यो मागलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो।
सोही अनुसार कानून संसोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो। संशोधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको भनाइ छ।
कानून मन्त्रालयबाट राय प्राप्त भएपछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।