जनकपुरधामस्थित जानकी चोकमा अंगराजसर पूर्वपट्टि रहेको ‘चन्दे लस्सी एन्ड दही पसल’ निकै प्रख्यात छ। पसलमा ग्राहकको भिड लाग्छ। दहीचिउरा, लस्सी, चिया र खुवाका पारखीहरू बिहान ६ बजेदेखि अबेर साँझसम्म लाइन लागेका हुन्छन्।
धनुषाका राजनीतिक नेता र सुरक्षा निकायका प्रमुखहरू पनि यहाँका ग्राहक छन्। उनीहरू यहींबाट घिउ, पनीर, दही र लस्सी लैजान्छन्।
पसल सुरू गरेयता कर्मचारी, समाजसेवी राजनीतिक दलका धेरै नेता कार्यकर्ताले चन्देश्वर साह (चन्देको) यहाँ आएर चिया खाएका छन्, गफ गरेका छन्।
गत साउन अन्तिमतिरको एक शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह नै आफ्नो पसलमा पसेको कुराले उनी अचेल बेलबेला दंग पर्छन्। चिया पसलमै पुगेर मुख्यमन्त्री सतीशकुमार सिंहले नमस्कार गरे। केही बेर बसे, पसलमा आएका मानिसहरूसँग गफ गरे अनि फर्के। अंगराजसर (अरगजा पोखरी) र तेलहा पोखरी अवलोकनपछि मुख्यमन्त्री सिंह फर्कनुअघि अचानक ‘चन्दे लस्सी एन्ड दही पसल’ मा पुगेका थिए।
‘म चिया पकाउँदै थिए, उहाँ मेरो पसलमै आएर नमस्कार गर्नुभयो। मैले चिया, लस्सी र दही खान धेरै आग्रह गरें तर उहाँले फास्टिङ (ब्रत) छ भन्नुभयो। ब्रत नबसेको भए जसरी पनि म उहाँलाई खुवाएरै पठाउँथें,’ चन्देश्वरले भने, ‘पसल अगाडि राखेको बेन्चमा बसेर एकछिन मान्छेहरूसँग कुरा गर्नुभयो र फर्किनुभयो।’
यो पसल चलेको २४ वर्ष भयो।
चन्देश्वर महोत्तरीको परौलस्थानबाट १२ वर्षको उमेरमा जनकपुरधाम आएका थिए। सुरूमा उनले होटलमा काम गरे। अर्काको होटलमा २० वर्ष काम गरेपछि आफ्नै पसल सुरू गरे- चन्दे लस्सी एन्ड दही पसल।
पसलबाटै आर्जन गरे। घर किने। अहिले पसल भएको घर आफ्नै हो।
पसलकै आम्दानीबाट तीन दाजुभाइले जनकपुरधाममा घरबार जोडेका छन्। छोराछोरीलाई स्कुल, कलेज पढाएका छन्।
‘राम्रो खर्च गरेर तीनजना छोरीको बिहे गरें। भाइले पनि आफ्ना छोरीको बिहे गरे। दुईजना छोराछोरी पढ्दै छन्,’ चन्देश्वरले भने, ‘छोराछोरी हुर्काएँ, राम्ररी पढाएँ। सानो पसलबाट मैले राम्रो तरक्की गरें।’
पसलमा चन्देश्वर एक्लै छैनन्। साथमा भाइ बिन्देश्वर पनि छन्। ‘चन्दे लस्सी एन्ड दही पसल’ दुबै दाजुभाइको हो।
चन्देश्वर यहाँका नामी व्यवसायी हुन्। उनी आफू पनि पसलका अन्य कामदारजस्तै खट्न्छन। आफै ग्राहकलाई गिलासमा पानी दिन्छन्, चिया पकाउँछन्, टेबलमा खाजा पुर्याउँछन्। उनको पसलमा पाँच जनाले काम पाएका छन्।
चन्देश्वर बिहान साढे पाँच बजे पसलमा पुग्छन्। ग्राहकका लागि बिहान ६ बजेदेखि राति १० बजेसम्म पसल खुला हुन्छ।
चन्देश्वर आफ्नो विगत र वर्तमानबाट आफै अनौठो अनुभव गर्छन्। आफ्नो परिश्रममा गौरव गर्छन्।
गौरवको यो अवस्थामा आइपुग्न उनले धेरै संघर्ष गरेका छन्।
२०३६ सालमा चन्देश्वरका बुबा दाजुभाइसँग अलग भएपछि आर्थिक रूपमा पारिवार नराम्ररी थाला पर्यो। गरिबीले गर्दा चन्देश्वर र उनका एक भाइले बीचमै स्कुल छाडे।
चन्देश्वर ६ कक्षाको परीक्षा दिएपछि भाइ विन्देश्वरलाई पनि लिएर जनकपुर आए। दुबै जनाले एउटा होटलमा काम पाए। काम भन्नु होटलका भाँडा माझ्ने, सरसफाइ गर्ने र ग्राहकको सेवा गर्ने थियो।
दुई दाजुभाइले काम गरेपछि घरखर्चमा मद्दत पुग्यो। बुबाआमालाई सजिलो भयो। यतिले पनि दाजुभाइ खुसी भए।
होटलमा काम गरेको आठ वर्ष भइसकेको थियो, २०४५ सालको एक दिन आगलागी भयो। फुसको छानो भएको होटल छिनभरमै खरानी भयो। होटल नरहेपछि कामदार दाजुभाइको रोजगारी पनि रहेन।
चन्देश्वर काम खोज्दै जानकी मन्दिर नजिकको ‘रघुपति मिष्टान्न भण्डार’ मा पुगे। चिया पकाउने र ग्राहकलाई नास्ता दिने काम पाए। त्यो समय रघुपति मिष्टान्न भण्डार जनकपुरमा निकै प्रख्यात थियो। ग्राहकहरूको भिड हुन्थ्यो। भाइले अर्को ठाउँमा काम पाए।
चन्देश्वर चिया पकाउन सिपालु भए। ग्राहकहरूले उनैलाई खोज्न थाले।
‘मेरो हातको चिया खाने धेरैले मलाई मन पराउन थाले। जनकपुरका मान्छे, क्याम्पसका विद्यार्थी र नेताहरूले मलाई चिन्न थाले। मैले काम सिकें, मान्छे पनि बनाएँ,’ उनले भने, ‘मैले केही पैसा जम्मा गरेको थिएँ। धेरै मानिससँग चिनजान भएपछि आफै व्यवसाय गर्ने विचार गरें।’
‘रघुपति मिष्टान्न भण्डार’ मा १२ वर्ष काम गरेपछि उनले २०५७ सालमा आफ्नै चियापसल खोले, पान पनि राखे।
चन्देश्वरका अनुसार उनी हलुवाई समुदायका हुन्। मिठाई बनाउनु र चियानास्ताको होटल चलाउनु हलुवाईहरूको पेसा हो।
उनले भने, ‘आफ्नो जातको पेसा भएकाले मलाई होटल लाइनमै काम गर्न मन लाग्यो।’
त्यतिन्जेलमा कान्छा भाइ सुरेन्द्रले १२ कक्षाको पढाइ पूरा गरेर दाइ चन्देश्वरका साथ व्यवसायमा लागे।
जनकपुरको गर्मीमा मानिसहरू लस्सी समेत खोज्थे। ‘रघुपति मिष्टान्न भण्डार’ मा काम गर्दा लस्सी बनाउन सिपालु भएका थिए। आफै दही जमाएर लस्सी बेच्न थाले।
पसल निकै रामरी चलेको थियो। आम्दानी राम्रो थियो तर ठाउँ साँघुरो भएर दुःख थियो। बचतबाट १५ लाख रूपैयाँमा दुई धुर जग्गामा बनेको एउटा घर किनेका थिए।
उनले भने, ‘दुई दाजुभाइ सुत्ने, दुध उमाल्ने, दही बनाउने, सामान राख्ने सबैका लागि एउटा कोठा थियो। पछि सडक विस्तार हुँदा पसल भत्कियो अनि आफ्नै घरमा सारें।’
चन्देश्वर र भाइ बिन्देश्वर संयुक्तरूपमा पसल चलाउँछन्। कान्छा भाइ सुरेन्द्रको छुट्टै पसल छ।
आफूले खुवाउने दही, लस्सी, पनीर, घिउ र चियाको गुणस्तरमा चन्देश्वलाई कुनै शंका छैन। उच्च गुणस्तरकमै कारण आफ्नो पसलले दिने सेवा ग्राहकहरूले मन पराएको उनको दाबी छ।
उनका अनुसार मिठाई र अरू परिकार पनि थप्न धेरै ग्राहकको सुझाब छ तर तत्कालै थप्न चाहँदैनन्। धेरै परिकार राख्दा गुणस्तर बिग्रने सम्भावनामा उनी सचेत छन्।
‘धेरै आइटम (परिकार) राख्दा क्वालिटी (गुणस्तर) बिग्रिन सक्छ। हामीले राम्रो क्वालिटी दिएकैले ग्राहकहरू टिकेका छन्। यहाँको दहीचिउरा, लस्सी, घ्यु, पनीर, चिया खानेहरू अन्त जाँदैनन,’ उनी भन्छन्, ‘हामी स्टाफ (कामदार) सँगै लागेर काम गर्छौं। गुणस्तरकै कारणले हाम्रो व्यवसाय राम्रो भएको हो।’
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले तीन वर्षअघि दहीचिउरा खाएर प्रशंसा गरेको चन्देश्वरले सम्झे।
जनकपुर उपमहानगरका पूर्वमेयर लालकिशोर साह हरेक दिनजसो ‘चन्दे लस्सी एन्ड दही पसल’ मा पुग्छन्। हालका मेयर मनोज साह पनि आइरहन्थे। मेयर भएपछि आएका छैनन्। फुर्सद नपाएर होला भन्ने उनले ठानेका छन्।
चन्देश्वरका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएयता पर्यटकको संख्या बढेको छ। उनको व्यापार पनि बढेको छ।
उनी भन्छन्, ‘मोदीको भ्रमणपछि होटल र नास्ता पसललाई धेरै फाइदा भएको छ। महँगीले बढेर पो अलिक गाह्रो हुँदै छ।’
‘चन्दे लस्सी एन्ड दही पसल’ मा चियामा मात्र दैनिक औसत ३० लिटर दुध खपत हुन्छ। गर्मीमा लस्सी बढी बिक्री हुन्छ। दैनिक डेढ सय गिलाससम्म लस्सी खपत हुन्छ।
उनी दूधको व्यापार पनि गर्छन्।
बाह्र वर्षको उमेरमा आफूभन्दा सानो भाइलाई लिएर होटलमा भाँडा माझ्न थालेका ५६ वर्षीय चन्देश्वर जनकपुरधाममा सुपरिचित व्यवसायी भएका छन्। आफ्नो पौरखमा गौरव गर्न सक्ने भएका छन्। तीनै जना दाजुभाइको व्यावसायिक प्रबन्ध भएको छ।