केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको एकान्तकुनाबाट पक्राउ परेका ५० जनामध्ये ८ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।
बुधबार सिआइबीले ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुना एकताबस्ती स्थित तीन तलाको घरमा छापा मारेको थियो। घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेको सूचना पाएपछि प्रहरीले त्यहाँबाट दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको थियो। उनीहरूलाई बिहीबार सार्वजनिक गरिएको हो।
उनीहरूमध्ये ८ जनालाई सिआइबीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। मुलुकी अपराध संहिता २०७४ दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत ललितपुरबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ। अन्य ४२ जनालाई हाजिर जमानीमा राखेको छ।
एसपी होबिन्द्र बोगटीका अनुसार उक्त कल सेन्टर सञ्चालन भइरहेको भवनबाट ५५ वटा कम्प्युटर, १९४ वटा मोबाइल, ४ वटा ल्यापटप, ४ वटा विदेशी पासपोर्ट बरामद भएको छ।
५६ हजार ६ सय थाई भाट, एक सय २३ अमेरिकी डलर, १० हजार तान्जानियन सिलिङ, सय चाइनिज युआन, सात सय ९५ युएई दिराम, एक सय ७० टर्किस लिरा र एक लाख ६२ हजार ५०० नेपाली रूपैयाँ बरामद भएको छ।
पक्राउ पर्ने चिनियाँ नागरिकहरू डिङ जियाहोङ र लिन छिनजिन छन्। कल सेन्टरका सञ्चालक समेत रहेका दुवै जना फुजियानका हुन्। त्यस्तै भाषा सहयोगी एवं अनुवादकका रूपमा फिलिपिन्सकी हानिपा सिनसुआत छिन्।
रौतहटका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान र सुनसरीका विजयबहादुर गिरी चारै जना ग्रुप लिडर हुन्।
प्रहरीले घर बहाल सम्झौताका दोस्रो पक्ष नवलपरासी बर्दघाटका सुदिप अधिकारीलाई पनि पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले कल सेन्टरको नाममा क्रिप्टोको कारोबार गर्थे। त्यसका लागि उनीहरूले डेटिङ एप प्रयोग गर्ने गरेको एसपी बोगटीले बताए।
उनीहरूले हिन्ज, बम्बल, मेलिमा, इन्शा, सलम, मुज, ओकेक्युपिड, अल्खत्बा लगायत डेटिङ एपमा प्रोफाइल र अन्य तस्बिरहरू युरोपियन, अमेरिकन मूलका विदेशीहरूको राख्थे।
'विशेषगरी मोडल तथा युरोपियन मूलका युवतीहरूको फोटो राख्ने रहेछन्। अनि त्यहाँबाट ठगी (स्क्यामिङ) गर्ने,’ बोगटीले भने, ‘अर्को चाहिँ उनीहरूले पुरूषहरूसँग दोस्ती बढाउने, कुराकानी बढाएर क्रिप्टोमा लगानी गर्न लगाउने गरेको खुलेको छ।’
यसरी उनीहरूले ह्यासप्याक मार्फत बाइनान्स, ट्रस्ट वालेट लगायत विभिन्न डिजिटल वालेटमा अमेरिकी डलर जम्मा गराउन लगाएर क्रिप्टोमा लगानी गराउँथे।
'उनीहरूको यो सञ्जाल ठूलै देखिएको छ। यसअघि दुबईमा पनि यही टिमले काम गरेको पनि फेला पार्यौं,' एसपी बोगटीले भने, 'दुबईमा उनीहरूले तीन-चार महिना यस्तै काम गरे। यिनै चिनियाँ र यिनै नेपालीहरू हुन्।'
उनीहरूले त्यहाँ बसेर अवैध कारोबार गरिरहेको खुलेपछि दुबई प्रहरीले पनि स्वीप अपरेसन गरी सबै जनालाई आ-आफ्नो देशमा डिपोर्ट गरिदिएको थियो। तर केही समयअघि दुवै चिनियाँ नागरिक नेपाल फर्किए। नेपाल आएर उता सँगै काम गरेको टिमलाई एकै ठाउँमा ल्याएर पुनः काम सुरू गरेको एसपी बोगटीले बताए।
'उनीहरूमध्ये अधिकांश त्यति बेला सँगै काम गरेकाहरू छन्,' उनले भने, 'जमानीमा छाडेकामध्ये केही भर्खर भर्खरै काम गरेकाहरू छन्।'
उनीहरूले कल सेन्टर सञ्चालन गरेको घरमा मासिक साढे ३ लाख रूपैयाँ भाडा तिर्ने सम्झौता गरेका थिए। कल सेन्टर सञ्चालनमा आएको ४० दिन भएको छ।
एसपी बोगटीका अनुसार कल सेन्टर खडा गर्नमा सुरूदेखि नै भूमिका खेल्नेहरूमाथि म्याद थप गरिएको र हालसालै जोडिएको देखिएकाहरूलाई जमानीमा राखिएको हो।
'उनीहरूको संलग्नता के कति छ, त्यस अनुसार हामी हेर्छौं। मोबाइलको प्राविधिक परीक्षण रिपोर्टबाट पनि खुल्छ,' उनले भने।
यसमा प्रहरीले बरामद गरिएका कम्प्युटर लगायत विभिन्न उपकरण परीक्षण गरिने उनले बताए।
यसअघि चिनियाँ समूहकै सक्रियतामा काठमाडौंसहित विभिन्न जिल्लामा कल सेन्टर सञ्चालन गरी भारतीय नागरिकलाई सर्ट-टर्म लोन दिई ठगी गर्ने घटनाहरू भएका थिए। यसमा पनि यही टिमको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ। प्राविधिक परीक्षणबाट त्यसबारे र कति रकमको कारोबार उनीहरूले गरेका थिए भन्ने पनि खुल्ने एसपी बोगटीले बताए।
त्यसैगरी सिआइबीले क्रिप्टोकरेन्सी कारोबार गर्ने काम अवैध रहेको भन्दै विदेश र नेपालमा रहेकाहरूलाई यसबारे जानकारी गराउन पनि अनुरोध गरेको छ। घर/जग्गाधनीहरूले पनि यस्ता काम गर्नेलाई बहालमा लगाउनुअघि प्रचलित ऐन नियम बमोजिम प्रक्रिया पूरा भए/ नभएको सुनिश्चित गर्न पनि सिआइबीले अपिल गरेको छ।