राजधानीको मुख्य सडकको दूरावस्थाले यात्रुहरू हैरान छन्।
हल्का पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने चक्रपथको कलंकी-बसुन्धरा सडक खण्डमा यात्रा गर्दा धुलो-धुवाँमात्रै सहनुपर्दैन, खाल्डाखुल्डी र चापाचाप सडकले दुर्घटनाको जोखिम समेत बढेको छ।
सडक विस्तार गर्ने भनेर रूख कटानदेखि केही काम सुरू भएपनि अव्यवस्थित रूपमा बालुवा, गिटी र निर्माण सामग्री थुपारिएको छ।
धुलोधुवाँले निसास्सिने भएपछि सडक छेउछाउका पसलहरूमा व्यापार पनि घटेको छ।
सडक चाँडो भन्दा चाँडो बनाउन सरोकारवालाहरले हरतवरबाट ध्यानाकर्षण गराए, नेताहरूले मार्च गरे तर सम्बन्धित निकायको त्यसतर्फ ध्यान गएन। कलंकीदेखि बसुन्धारासम्मको खण्डमा नागरिकहरूले अझै कति समय यस्तो सास्ती भोग्नुपर्ने हो भन्ने टुंगो छैन।
भदौ ६ गते बल्ल नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरु भएको छ।
८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारेको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो। तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन। २०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम सुरू भई २०७५ सालमै सकिएको थियो।
पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक बिस्तार शुरु हुनुपर्ने थियो। तर विभिन्न कारणवश अहिलेसम्म पनि शुरु भएन। जबकी चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो।
चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो। यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढ्न सकेन।
पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो। तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले वर्षौंदेखि सास्ती खेपिरहेका छन्।
तस्बिरहरूः
सबै तस्बिरहरूः नेपाल न्युज एजेन्सी।