‘दलितलाई खै’ अभियान चलाइरहेका खगेन्द्र सुनारसहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।
शनिबार दिउँसो खगेन्द्रको आन्दोलनमा समर्थन गर्न आइपुगेका युवाहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
‘संविधान बन्यो दलितलाई खोइ!’ , ‘लोकतन्त्र आयो दलितलाई खोइ!’ लगायतका नाराहरू लगाइएका थिए।
माइतीघरदेखि नाराबाजीसहित बानेश्वर पुगेको प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा केही धकेलाधकेल पनि भएको थियो।
अर्धनग्न अवस्थामा प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा केही धकेलाधकेल भएको थियो।
खगेन्द्र सुनारले आजको प्रदर्शन असोज ३ को तयारी रहेको पनि बताए।
‘नांगो सरकारले दलितमाथि नांगो हस्तक्षेप गरेको छ र दलितलाई पनि उनीहरूले पाउने अधिकारबाट बञ्चित राखेर नंग्याइएको छ,’ उनले भने, ‘राज्यको अवस्था यो छ भनेर देखाउन हौं। राज्यलाई पनि लाज घिन भन्ने भएन। नांगो राज्यको दलित पनि नांगा छौं भन्ने सन्देश दिन खोजेका हौं।’
उनले असोज ३ गते ठूलो संख्यामा दलित युवाहरू काठमाडौं आउने र सरकारलाई झकझक्याउने बताए।
तस्बिरहरूः