मिर्गौलामा पत्थरी सबै उमेर समूहका व्यक्तिलाई हुन्छ। यद्यपि हरेक उमेर समूह र महिला तथा पुरूषलाई हुने पत्थरीका कारणहरू फरक-फरक हुन्छन्।
नेपालमा मिर्गौलाको पत्थरी बढ्दो छ। सबैभन्दा बढी तराई क्षेत्रका मानिसमा पानीको कमीले पत्थरी हुने गरेको पाइएको छ।
शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड बढ्यो भने पनि पत्थरी हुन्छ।
मिर्गौलामा पत्थरी हुने धेरै कारण भएसँगै उपचारको पद्धति पनि फरक फरक हुन्छन्। यसको उपचार पहिलेभन्दा अहिले धेरै फरक छ।
पहिला चिरफारको माध्यमबाट मात्र उपचार हुन्थ्यो भने अहिले मेसिनद्वारा बिना चिरफार पत्थरी निकाल्न सकिन्छ। पिसाबको थैली, नली र किड्नीको पत्थरी मेसिनको सहयोगले निकाल्न मिल्छ। पत्थरी सानो भएमा यो विधिबाट निकाल्न सकिन्छ। तर पत्थरी ठूलो भएमा सानो प्वाल पारेर त्यहाँ भएका ढुंगा फुटाएर बाहिर निकालिन्छ।
मिर्गौला कुन ठाउँमा छ र ढुंगा कडा छ कि छैन भनेर समेत उपचार विधिमा फरक हुनसक्छ।
जुनसुकै विधिबाट भए पनि बिरामीलाई कम बाधा हुनेगरी ढुंगा निकाल्न सकिन्छ। तर शतप्रतिशत ढुंगा भने जाँदैन। औसतमा ७० प्रतिशत मात्रै ढुंगा निख्रिन्छ। एकचोटि ढुंगा बन्यो भने फेरि पनि बन्नसक्छ।
दोहोर्याएर ढुंगा बन्न नदिन ढुंगा जाँच्न पठाइन्छ। ढुंगा कस्तो केमिकलबाट बनेको छ भनेर परीक्षण गरेपछि मात्रै थाहा हुन्छ।
पत्थरी समस्या भएको व्यक्तिले के खाने, के नखाने भन्ने पनि परीक्षण गरेपछि मात्रै थाहा हुन्छ। पत्थरीको उपचार गरेपछि पानीको मात्रा बढाउनुपर्छ। पानी यतिउति खाने भन्दा पनि कम्तीमा २ लिटर पिसाब फेर्नुपर्छ। त्यो आफू बस्ने ठाउँ र मौसममा भरपर्छ।
पत्थरीको समस्याबाट जोगिन नुनको मात्रा कम गर्नुपर्छ। नुनको मात्रा कम गरेमा पत्थरी बन्न धेरै कम हुन्छ। यो सँगै तौलमा नियन्त्रण हुनुपर्छ, पानीको मात्रा बढाउनुपर्छ भने प्रोटिनयुक्त खाना कम खानुपर्छ।
मिर्गौलामा पत्थरी भयो भने कतिपय अवस्थामा लक्षण नदेखिन सक्छ। मिर्गौलामा पत्थरी हुँदा कोखा दुख्छ अनि पछाडि पिठ्यूँमा सर्छ। पिसाबको नलीमा पत्थरी परेको छ भने त्यसको दुखाइ कोखाबाट तल इनर थाइमा दुख्छ। पिसाब थैलीमा पत्थरी पर्यो भने पिसाब रोकिने र लिंगको टुप्पामा दुख्ने हुन्छ। त्यस्तै पिसाबमा रगतसमेत देखिन्छ।
यसै विषयमा हामीले वीर अस्पतालमा कार्यरत युरोलोजिष्ट डा. चितरञ्जन शाहसँग भिडिओ कुराकानी गरेका छौं।
हेर्नुहोस् भिडियो।