पोखरेली कलाकारले मनसुन अवधिमा कोरेका चित्रकला प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा ४७ जना कलाकारका ६० वटा चित्रकला छन्।
पोखरामा क्रियाशील सिर्जनशील कलाकार समूहको वार्षिक कार्ययोजना अनुसार उक्त चित्रकला प्रदर्शनी आयोजना गरिएको हो।
मनसुन श्रृङ्खलाको चौथो संकरणका रूपमा चित्रकला प्रदर्शनी गरिएको समूहका अध्यक्ष डिबी गुरूङले बताए।
पोखराको क्षेत्री समाज भवनमा असोज ३ गतेदेखि सुरू भएको प्रदर्शनी असोज ९ गतेसम्म चल्नेछ। प्रदर्शनीमा राखिएका चित्रकलाको मूल्य ३ हजारदेखि १ लाखभन्दा बढीसम्म छन्।
प्रदर्शनीबाट बिक्री भएको चित्रको मूल्यबाट २० प्रतिशत रकम संस्थामा रहने अध्यक्ष गुरूङले बताए।
सिर्जनशील कलाकार समूहले २०७६ सालदेखि मनसुन चित्रकला प्रदर्शनी श्रृङ्खला थालेको थियो। यसअघिका प्रदर्शनीहरू कलाकारलाई कुनै गाउँ ठाउँमा लगेर कला कार्यशाला गराउने र कार्यशालामा बनाइएका चित्रकला प्रदर्शनी गर्ने गरिन्थ्यो। यसपटक भने आर्थिक स्रोतको कमीले कार्यशाला गर्न नसकेको गुरूङले बताए।
‘पहिला पहिला गाउँ गाउँमा पुगे कला कार्यशाला गरिन्थ्यो। कलाकारलाई क्यानभास उपलब्ध गराइन्थ्यो,’ उनले भने, ‘यसपटक त्यसो गर्न हामीसँग आर्थिक स्रोत भएन।’
अहिले भइरहेको चित्रकला प्रदर्शनी पनि सिर्जनशील कलाकार समूह र कलाकार स्वयंको लगानीमा चलेको छ। आर्थिक अभाव भएकै कारण प्रदर्शनीको क्याटलक छाप्न नसकेको गुरूङले बताए। क्याटलक छाप्न कम्तीमा २ लाख लग्ने उनको भनाइ छ।
पोखराका कलाकारहरूले आफ्नै लगानीमा बनाएको पोखरा आर्ट ग्यालरी पोखरा महानगरले भत्काएपछि एक वर्ष यस्तो प्रदर्शनी रोकिएको थियो। क्षेत्री समाज भवनको एउटा फ्लाटमा अस्थायी रूपमा आर्ट ग्यालरी राखिएपछि प्रदर्शनी राखिएको गुरूङले बताए।
प्रदर्शनीको उद्घाटनमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले कलाकारलाई साथ दिन प्रदेश सरकार तयार रहेको बताए।
‘चित्रकला प्रवर्द्धन गर्न हामीले के गर्न सक्छौं, प्रस्ताव लिएर आउनुस्,’ उनले भने, ‘प्रदेश सरकार सहयोग गर्न तयार छ।’
प्रदर्शनीमा बरिष्ठ कलाकार बुद्धि गुरूङ, क्षेत्रलाल कायस्थ, रमेश श्रेष्ठ, डिबी गुरूङ, झबिन्द्र गुरूङ, हेमकान्ती गुरूङ, डा. निर्मल लामिछाने, पारु अधिकारी, सञ्जिता घिमिरे, हरेराम जोजु, कृपा श्रेष्ठ, एलिटा गुरूङ, आकाश गुरूङ, अमृत परियार, अनिता गुरूङ, बाबुराम बस्ताकोटी, जीत गुरूङ, ज्योति गुरूङ, केदार पालिखे, मदन बान्तवा राई, मिलन शेरचन, प्रकाश अधिकारी लगायत कलाकारहरूका चित्रकला छन्।
सबै तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी