बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।
सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका-७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई नदीमा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार उनी दृष्टिविहीन हुन्।
प्रहरीले उनको श्रीमतीसँग सोधपुछ गर्दा अर्जुन कसैलाई केही नभनी बिहान करिब साढे ८ बजे घरबाट निस्किएका थिए।
साढे १० बजेतिर स्थानीयले बबई नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल अर्जुनको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा हो।
सूचनापछि अस्थायी प्रहरी पोष्ट सर्राका प्रहरी सहायक निरीक्षक लक्कु चन्दको कमाण्डमा तीन जना र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्तीको कमाण्डमा थप पाँच जनाको टोली घटना अनुसन्धानका लागि खटिएको थियो ।
शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।