गर्मी बढ्दै गएपछि मोरङ र झापाका स्थानीय तहहरूले धमाधम विद्यालय बिदा दिन थालेका छन्।
एक सातायता यहाँ अत्याधिक गर्मी बढेको छ।
विराटनगर क्षेत्रमा केही दिनयता दैनिक अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुगिरहेको छ।
सोमबार पनि अधिकतम तापक्रम ४० डिग्री पुगेको छ। अधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै मोरङका केही स्थानीय तहले मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
रंगेली नगरपालिका र ग्रामथान गाउँपालिकाले अत्यधिक गर्मीको कारण देखाएर आफ्नो पालिका भित्रका विद्यालय बन्द रहने सूचना जारी गरेका छन्। रंगेली नगरपालिकाका नगर शिक्षा अधिकृत रविन्द्रकुमार पण्डितले पालिका भित्रका सबै विद्यालय मंगलबार र बुधबार बिदा गरिएको जानकारी दिए।
उनले केही दिनदेखिको प्रतिकूल मौसमका कारण अत्याधिक गर्मी बढेर विद्यालयमा पठनपाठन सञ्चालन गर्न समस्या भएकोले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताए।
ग्रामथान गाउँपालिकाले पनि आफ्नो पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू मंगलबार एक दिन बन्द गरिने सूचना निकालेको छ।
मोरङकै जहदा गाउँपालिकाले पनि मंगलबार एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले अत्याधिक गर्मीले गर्दा विद्यालयको पठनपाठन प्रभावित भएकोले बिदा दिइएको बताए।
विराटनगर महानगरपालिकाभित्रका केही विद्यालयले भने आन्तरिक रुपमा मंगलबार विद्यालय बन्द गर्ने तयारी गरेका छन्। यसैगरी झापाको बनिायानी क्षेत्रमा पनि विद्यालयहरु दुई दिन बन्द रहने निर्णय भएको शिक्षक नविन ढुंगानाले जानकारी दिएका छन्।