सुख्खा पहिरोमा परी गुल्मीको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन्।
६९ वर्षीया टनी पुन आइतबारदेखि बेपत्ता भएकी हुन्। घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरू चराउन गएको बेला सुख्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरो गएको ठाउँमा सोमबार खोजतलास गर्ने क्रममा दुइटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ।
उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुख्खा पहिरो गएको छ।
टनी पुन सम्पर्कमा नआएकाले पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।