कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्।
वीरेद्रनगर नगरपालिका वडा नम्बर ६ की १८ वर्षीय लक्ष्मी सुनारको सुत्केरी गराउने क्रममा मृत्यु भएको भन्दै परिवार र आफन्त प्रदर्शनमा उत्रिएका हुन्।
अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार सुनारलाई व्यथा लागेपछि ल्याइएको थियो। उपचारका क्रममा आमाको पेटमै बच्चाको मृत्यु भएको थियो।
आमाको पेटबाट बच्चा निकालेपछि अत्यधिक रक्तश्रव भएर सुनार बेहोस भएकी थिइन्। त्यसपछि आइसियुमा राखिएकी उनको उपचारको क्रममा मृत्यु भएको बस्नेतले बताए।
आफन्तले प्रदर्शन गरेपछि सोमबारदेखि अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पताल र मृतकका आफन्तबीच दुई पटक छलफल पनि भएको छ।
छलफल निष्कर्षविहीन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी विनोदबीर विश्वकर्माले बताए। ‘उहाँहरूको माग भनेको चिकित्सकलाई कारबाही गर्नुपर्छ भन्ने छ, यसका लागि लिखित रूपमा निवेदन दिनुभएको छैन,’ उनले भने।
मृतकका श्रीमान विदेशमा छन्। उनी आएपछि छलफल गर्ने आफन्तको तयारी छ।