उदयपुरको वेलका नगरपालिका-८ स्थित सेतीखोलामा मलामी लिएर फर्किएको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
घाइतेमध्ये २० जनाको नगर अस्पताल रामपुरमा उपचार भइरहेको र बाँकी ६ जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए।
प्रदेश १-०२-००१ ख ८२५३ नम्बरको बस मध्याह्न १२ बजेतिर मलामी लिएर फर्किने क्रममा सडकदेखि १२ मिटर तल गएर पल्टिएको थियो। बसमा कति यात्रु थिए भन्ने तथ्यांक संकलन गर्ने काम भइरहेको प्रहरी निरीक्षक उदासले जनाए।
दुर्घटना परेको बसले मंगलबार बिहान पालिकाको ५ नम्बर वडामा रहेको घुम्ने भन्ने ठाउँबाट मलामी लिएर सप्तकोशी गएको थियो। सोही क्रममा मलामी लिएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो।
दुर्घटना के कारणले भएको हो भन्ने खुलिसकेको छैन। बसका चालक समेत घाइते भएको हुँदा थप विवरण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।