वीरेठाँटी–घोरेपानी पदयात्रामा पर्ने भुरुङ्दी खोलामा एक महिलाको शव फेला परेको छ।
उक्त शव हराइरहेकी स्पेनिस पर्यटक मोलास जुन्काको हुनसक्ने स्थानीयबासीले आशंका गरेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ तिखेढुङ्गा नजिकै भुरुङ्दी खोलामा भदौ १० गते स्पेनिस पर्यटक मोलास जुन्का र इरिक कासानोभास हराएका थिए। खोलाछेउ उनीहरूको झोला, लठ्ठी र कपडा भेटिएको थियो। उनीहरू दुबै जनाले घोरेपानी पुनहिल पदयात्रा जाने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को बिरेठाँटी चेकपोष्टमा भदौ ९ गते इन्ट्री भएका थिए।
चेकपोष्टमा इन्ट्री भएको भोलिपल्टै उनीहरू हराएका थिए। भुरुङ्दी खोलामा पौडी खेल्न खोज्दा खोलाले बगाएर उनीहरू बेपत्ता भएको हुनसक्ने स्थानीयबासीको आशंका छ। बेपत्तामध्ये पुरूष पदयात्री इरिक कासानोभासको शव भने भदौ १२ गते भुरुङ्दी खोलामै भेटिएको थियो। महिला पदयात्री मोलास भने बेपत्ता थिइन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ का वडाध्यक्ष रमेश गुरूङका अनुसार सोमबार साँझ स्थानीयबासी माछा मार्न जाँदा खोलामा काठको मुढाले किचेको अवस्थामा शव देखेका थिए। उनीहरूले प्रहरीलाई खबर गरेपछि मंगलबार शव निकालेर पोखरा ल्याइएको छ।
भदौ १० गते हराएका स्पेनिस पर्यटकमध्ये पुरूषको शव फेला परेको ठाउँभन्दा केही माथि मात्र महिलाको शव फेला परेको हो।
खोलामा पानी घटेपछि शव देखिएको वडाध्यक्ष गुरूङले बताए।
उक्त शव हराइरहेकी स्पेनिस महिला पदयात्री मोलासको हुन सक्ने उनको आशंका छ।
शव फेला परेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार उद्धार गरेर पोखरा ल्याएको छ।
उनको शव पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले जानकारी दिए। उनका अनुसार शव कुहिएको र नचिनिने अवस्थामा छ।
‘शव कुहिएर नचिनिने अवस्थामा छ, पोष्टमर्टम गर्न अस्पताल पठाएका छौं,’ उनले भने, ‘स्पेनिस राजदूतावाससँग समन्वय गरेर डिएनए परीक्षण गरेर प्रमाणित भएपछि मात्र उहाँहरूलाई शव बुझाउँछौं।’