मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सरकारी वकिलले दुई घण्टा बयान लिएको छ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनीसँग दुई घण्टा बयान लिइएको हो। बयान लिएर उनलाई सरकारी वकिल कार्यालयबाट साइबर ब्युरोको हिरासतमा लगिएको छ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै उनलाई ब्युरोले आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। यसबीच उनका छोरा निराजनले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार विपक्षीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोको नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रसाईंलाई छाड्न अस्वीकार गर्दै १५ दिनभित्र जबाफ माग गरिएको हो।
तस्बिर: नेपाल फोटो लाइब्रेरी