झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका दुई जना समर्थकलाई पक्राउ गरेको छ।
बिएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पिडिएफ) ले झापाको यातायात बन्दको घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं डिएसपी कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न प्रसाईं समर्थक हल्दीवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बू तुम्वापो र बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको बताए।
डिएसपी चन्दका अनुसार पक्राउ परेका दुबै जनालाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको छ। ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिए।
उनीहरूले कन्काई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए।
आगजानीबाट घाइते भएका दुबै ट्रकका चालकहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।