दसैंमा बिक्री गर्न ठिक्क पारेका १०३ वटा च्याङ्ग्रा ठगिएका ताक्ला गुरूङ यतिबेला रन्थनिएका छन्। च्याङ्ग्रा लिएर भागेका मुन्नाको खोजी गर्दागर्दा उनी थाकेका छन्। च्याङ्ग्रा पाल्दा भन्दा बेच्दा धेरै दु:ख पाएको बताएका छन्।
‘च्याङ्ग्रा बिक्री गर्दा यतिधेरै दु:ख त कहिल्यै पाएको थिइनँ,’ सेतोपाटीसँग उनले भने, ‘कति वर्षको दु:ख खेर जाने भयो।’
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ का च्याङ्ग्रा किसान ताक्ला असोज १ गते पनि गोठमै च्याङ्ग्राको स्याहार सुसार गर्दै थिए। रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भई पोखराको मासबार बस्दै आएका मुन्ना भन्ने ५० वर्षीय मोहम्मद फकिर कार लिएर ताक्लाको गोठमै पुगे।
आफू च्याङ्ग्रा किन्न आएको व्यापारी भनेर परिचय दिए। अनि उनका गोठमा भएका च्याङ्ग्रा सबै किन्न प्रस्ताव राखे।
ताक्ला आफ्नो गोठमा भएका केही च्याङ्ग्रा दसैंमा बेच्ने योजनामा थिए। उनले छरछिमेकबाट पनि केही च्याङ्ग्रा किनेका थिए। गोठमै च्याङ्ग्रा किन्ने व्यापारी आएपछि उनी पनि खुसी भए।
उनीहरूबीच च्याङ्ग्रा खरिद बिक्रीको समझदारी भयो। ताक्ला गोठमा भएका १०३ वटा च्याङ्ग्रा ४२ लाख रुपैयाँमा बेच्न तयार भए। मुन्नाले मुस्ताङकै किमी छोटेन गुरूङको ग १ ख ५१७४ नम्बरको ट्रक रिजर्भ गरेर च्याङ्ग्रा लोड गरे।
मुन्नाले च्याङ्ग्राको पैसा दिन नगद नभएको बताए। यसका सट्टा बैंक चेक दिने प्रस्ताव गरे। ताक्लाले चेक लिन मानेनन्। जोमसोम गएर दिने भन्दै आफ्नो गाडीमा बस्न मुन्नाले प्रस्ताव गरे। ताक्ला गाडी चढे।
जोमसोम आइपुग्दा साँझ परिसकेको थियो। बैंक बन्द भयो। मुन्नाले बहाना बनाए। बैंक बन्द भएछ। पोखरा जाउ पोखरामै नगद दिन्छु भनेर प्रस्ताव गरे। मुन्नाको प्रस्ताव ताक्लाले सहजै स्वीकार गरे। उनी पनि मुन्नाको समूहसँगै पोखरा आए।
पोखरामा राति आइपुगेका मुन्नाको समूह र ताक्ला एउटा होटलमा बास बस्न पुगे। बिहानै च्याङ्ग्रा लोड गरिएको ट्रक पोखराको याम्दीमा रोकियो। च्याङ्ग्रा त्यहीँ झारियो। ट्रकमा निस्सासिएर केही च्याङ्ग्रा मरेका थिए।
बिहान उज्यालो भएपछि ताक्लालाई होटलमै बस्न मुन्नाले आग्रह गरे। मुन्ना र उनका समूह मरेका च्याङ्ग्रा व्यवस्थापन गरेर आउने अनि पैसा दिने प्रस्ताव गरे। यो प्रस्ताव पनि ताक्लाले विश्वास गरेर स्वीकार गरे। तर मुन्ना आउँदै आएनन्।
‘बिहान घाम छिप्पिसक्यो, आउला आउला आएन,’ ताक्लाले भने, ‘फोन गर्दा पाँच मिनेट, दश मिनेट भन्दै घण्टौंसम्म नआएपछि ठगीमा परेको महसुस गरेँ।’
ताक्ला याम्दी गए। ट्रक रित्तै थियो। ट्रक चालक एवं सहचाकलका अनुसार मुन्नाले अर्को ट्रकमा च्याङ्ग्रा लोड गरेर लगेछन्। त्यसपछि मुन्ना बेपत्ता भए। ताक्लाले न पैसा पाए, न च्याङ्ग्रा।
पोखरामा च्याङ्ग्रा खोज्दा खोज्दा उनको दिन बित्यो। प्रहरीमा जाहेरी दिए। मुन्ना त पटक पटक ठगी, चोरी, लुटपाटका पटके रहेछन्। पटके ठगीमा परेका ठगको फन्दामा परेको उनले प्रहरीमा पुगेपछि थाहा पाए।
ताक्ला हराएको च्याङ्ग्राको खोजीमा लागे। मुन्नाको पनि उनले खोजतलास गरे। खोज्दा खोज्दा उनको च्याङ्ग्रा चितवन पुगेको थाहा पाए। चितवन उनले ४० वटा मात्र च्याङ्ग्रा फेला पारे। बाँकी कहाँ लग्यो, के गर्यो उनले पत्तो पाएका छैनन्।
चितवनमा फेला पारेका च्याङ्ग्रा फेरि फर्काएर पोखरा ल्याउन र मुस्ताङ लैजान उनले सम्भव ठानेनन्। उतै व्यापारी खोजेर सस्तो मूल्यमा बिक्री गरे। पैसा भने नयाँ व्यापारीसँग पनि पूरा पाएका छैनन्।
‘एउटाको ३०, ३२ हजारमा चितवनमा फेला पारेको च्याङ्ग्रा बेचेँ, अलिकति पैसा दिनुभएको छ, बाँकी पछि दिन्छु भनेका छन्,’ उनले भने।
ताक्लाका अनुसार लोमान्थाङ तिरबाट झरेका मुन्नाले लोमान्थाङमा पनि ७, ८ सय च्याङ्ग्रा किनेको दाबी गरेका रहेछन्। केही च्याङ्ग्रा धपाउँदै आएका पनि रहेछन्। चराङबाट लोमान्थाङका किसानले फिर्ता लगेछन्। अनि चैलेस्थित ताक्लाको गोठमा पसेका रहेछन्।
च्याङ्ग्रा ठगी गरेर भागेका मुन्ना उर्फ मोहम्मद फकिर पोखरा–४ बाट सोमबार पक्राउ परेका छन्। पोखराको मासवार बस्दै आएको उनी पटके ठगी, लुटपाट र चोरीमा पक्राउ परिसकेको व्यक्ति भएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्त शर्माले बताए।
उनका अनुसार मुन्नालाई ठगी अपराधिक विश्वासघात तथा आपरधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
मुन्ना सोमबार पक्राउ परेपछि च्याङ्ग्रा किसान ताक्ला पनि जिल्ला प्रहरी कार्यालय पुगे। मुन्नालाई भेटेर मेरो च्याङ्ग्रा खोई भनेर सोधे। जबाफमा मुन्नाले च्याङ्ग्रा काठमाडौंमा बिक्री गरेको र ३० वटा मरेको बताएको ताक्लाले बताए।
‘मेरो च्याङ्ग्रा खोई भन्दा हाँसेर बस्छ, काठमाडौंमा बेचे भन्छ, ३० वटा मर्यो भन्छ,’ उनले भने, ‘च्याङ्ग्रा पाल्दा भन्दा धेरै दु:ख पाएँ।’