मंगलबार बिहान वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्कमा आयोजित एक औपचारिक कार्यक्रममा भीमबहादुर महतमका लागि करिब एक मिनेट एकहोरो ताली बज्यो। कर्णाली प्रदेशका निमित्त प्रहरी प्रमुख रहेका एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले उनलाई सम्मानपत्र हस्तान्तरण गरे। अतिथिहरूले पालैपालो खादा लगाइदिए।
गाडीचालक भीमबहादुरको जीवनमा उनका लागि तालीको गडगडाहट ओइरिएको थियो। पेसागत इमानदारीको कदरमा प्रदान गरिएको सम्मान पनि उनको जीवनमा पहिलो थियो। ठूलो फ्रेममा राखिएको सम्मानपत्र दाहिने हातले समातेर उनले सबैलाई धन्यवाद दिए।
‘यात्रामा कहिलेकाहीँ यात्रुले मिठो बोलेर सम्मान गर्नु बेग्लै हो, अहिलेसम्म यसरी औपचारिक सम्मान पाएको थिइनँ,’ उनले भने, ‘यो सम्मानले मलाई खुसी बनाएको छ। मैलेजस्तै सुरक्षित तरिकाले सवारी चलाउनुहोस् भनेर सबैलाई भन्न चाहन्छु।’
भीमबहादुरले यातायात क्षेत्रमा चालकका रूपमा काम गर्दा इमानदारीपूर्वक ट्राफिक नियम पालना गरेको र कुनै पनि दुर्घटना नगराई सुरक्षितरूपमा यात्रुलाई गन्तव्यमा पुर्याएको ठहर गरेर कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले उनलाई सम्मान गरेको हो।
उक्त कार्यालयले चाडपर्वका समयमा सवारी दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरेको थियो।
दैलेखको गुराँस गाउँपालिका–१ का ४२ वर्षीय भीमबहादुरले यातायात क्षेत्रमा काम गरेको २५ वर्ष भयो। सुरुका तीन वर्ष सहचालकको रूपमा काम गरे। गाडी चलाएको २२ वर्ष भयो।
उनले सुरुका केही वर्ष मालबाहक ट्रक चलाए। त्यसपछि साहुको गाडी चलाए। विगत १३ वर्षदेखि सार्वजनिक यातायातमा आफ्नै गाडी चलाएका छन्। चालकका रूपमा आजसम्म उनको कुनै पनि त्रुटि प्रहरी रेकर्डमा नरहेको जनाइएको छ।
भीमबहादुरले लामो दूरीमा कर्णाली–काठमाडौं रुटमा पनि गाडी चलाए।
उनी हाल सुर्खेतबाट दैलेख जाने गाडी चलाउँछन्। त्यही रुटबाट फर्केर सुर्खेत आउँछन्।
सवारी चालकका रूपमा आफू कर्णाली प्रदेशको हुम्ला सदरमुकाम बाहेकका सबै जिल्लामा पुगेको उनले बताए।
सम्मानपछि उनले भने, ‘मैले आफ्नो पेसामा इमानदार भएर काम गरें। होसियारीका साथ गाडी चलाएँ। यो सम्मान मेरा लागि निकै ठूलो कुरा हो। मैले चलाएको गाडीमा यात्रुहरू सुरक्षित रहनुभयो।’
हरक्षण होसियार भएर गाडी चलाउन सबै चालक र सहचालकलाई उनको सुझाब छ। यात्रुको जीवन चालकको हातमा हुने भएकाले सबै चालक सजग रहनुपर्ने उनको भनाइ छ।
कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख रहेका एसपी (प्रहरी उपरीक्षक) अपीलराज बोहराले कर्णालीको जोखिमयुक्त सडकमा सुरक्षित यात्रा गराउने भीमबहादुर र अन्य चालकहरूको प्रशंसा गरे।
‘कर्णालीमा सडकको अवस्था राम्रो छैन। कतिपय अवस्थामा अनुगमनको पाटो पनि कमजोर छ,’ बोहराले भने, ‘यस्तो अवस्थामा सुरक्षित रूपमा यात्रुलाई गन्तव्यसम्म पुर्याउने चालकहरू महान हुन्, हामीले कदर गर्नुपर्छ।’
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले चालकहरू सजग रहनुपर्ने उनले बताए।
प्रदेश ट्राफिक कार्यालयका इन्स्पेक्टर (प्रहरी निरीक्षक) हरिबहादुर बिसीका अनुसार विभिन्न जिल्ला तथा प्रदेश ट्राफिक कार्यालयमा भएका रेकर्ड हेरेर सम्मानका लागि भीमबहादुर छानिएका हुन्।
‘उहाँजस्ता इमानदार सवारीचालक अरू पनि हुनुहुन्छ तर उहाँमा केही खास विशेषता देखिएकाले सम्मान गरिएको हो,’ उनले भने, ‘यसले अरू चालकलाई पनि प्रेरणा मिलोस् भन्ने अपेक्षा हाम्रो अपेक्षा छ।’