माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।
यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोशीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो।
मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए। बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो।
केही दिनदेखि परेको अविरल वर्षाले नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिए।
‘कोशीमा बाढी आइरहेको छ। गोताखोर टोली आएलगत्तै खोजी तीव्र पारिएको थियो,’ उनले भने, ‘घटनास्थलदेखि जयराम घाटसम्म खोज्यौं। कोशीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो।’