जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।
शुक्रबार बिहान परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गरेको हो।
प्रहरीले यस सुरक्षा योजनाका लागि ‘नागरिक स्वयंको सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी’ नारा तय गरेको छ।
सम्मेलनमा चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई न्यूनिकरण गर्न केन्द्रित थियो भने परिसर प्रमुख एसएसपी बसन्त रजौरेले प्रहरीको योजना सार्वजनिक गरेका हुन्।
उनलाई पत्रकारहरूले दसैँ-तिहारमा गाउँ जानेहरूको घरको सुरक्षा कसरी गर्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए। एसएसपी रजौरेले कोही पनि काठमाडौं छाडेर जानु परेमा छरछिमेकलाई वा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्।
‘चाड मनाउन मन्दिर जाँदा ढुक्क भएर जानसक्नुहुन्छ। बाहिरै जाने सन्दर्भमा यहाँहरू पनि चनाखो हुनुपर्दछ। नारा छ हाम्रो नागरिक स्वयमको सावधानी, यस अनुसार बाहिर जान परेमा छरछिमेकमा, प्रहरीलाई जानकारी गराएर जानुहोला,’ उनले भने, ‘सकेसम्म आफ्नो घर खाली नराख्नु, राख्नै परेमा जानकारी गराउनुस्। प्रहरीको निरन्तर गस्ती त रहन्छ नै तर यहाँहरू पनि चनाखो चाहि हुनुपर्छ।’
यस्तै कुनै पनि घटना भएमा प्रहरी समयमा नआएको गुनासोबारे पनि उनले प्रष्ट्याए। ‘यसपालि हामीले ५ देखि १० मिनेट भित्र घटनास्थलमा पुग्ने गरी लक्ष्य राखेका छौं,’ उनले भने।
दसैँ तिहारलाई लक्षित गर्दै १४ वटा क्षेत्रहरू विभाजन गरी सुरक्षा दिने योजना प्रहरीले बनाएको छ। जसको कमाण्ड डिएसपीले गर्ने र १० जनाको टोली रहने एसएसपी रजौरेले बताए।
त्यस्तै पैदल गस्तीलाई पनि दुई वटा वर्गीकरण गरिएको छ। दुई वटा लामो रूटहरूमा तीन दिने र छोटो दुरीका ४२ वटा रूटमा एक दिने गस्ती रहने पनि प्रहरीले जनाएको छ।
त्यस्तै क्यामरासहित बोकेको इ-क्युआरटी ७६ वटा सवारी गस्ती रहनेछ भने २४ वटा मोबाइल गस्ती रहने प्रहरीले जनाएको छ। सूचना संकलन गर्न ३८ वटा टोली सादा पोशाकमा खटिनेछन्। खोज तलासका लागि २८ वटा र २२ वटा एम्बुस टोली रहने प्रहरीले जनाएको छ।
कुनै ठूलो घटना हुने भएमा ३ वटा टोली भने स्ट्यान्डबाइ रहने एसएसपी रजौरेले बताए।
त्यसैगरी नाकाहरूमा कुकुर सहितको टोली खटिने भएको छ। तालिम प्राप्त कुकुरसहितको टोली खटिँदा घटना न्यूनीकरण गर्न सकिने प्रहरीले जनाएको छ।
त्यस्तै गरी कुनै पनि घटना हुनसक्ने भन्दै बसपार्क, नाका क्षेत्रमा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ।
यो पनि: खसी र गहना बजारदेखि टिकट काउन्टरसम्म काठमाडौं प्रहरीले गस्ती गर्ने