काठमाडौंमा भिड हुने स्थानमा प्रहरीले ड्रोनबाट निगरानी गर्ने भएको छ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।
त्यसअनुसार काठमाडौंका भीडभाड हुने ठाउँमा हुनसक्ने घटनालाई न्यूनीकरण गर्नलाई प्रहरीले ड्रोनबाट निगरानी गर्ने योजना बनाएको एसएसपी बसन्त रजौरेले जानकारी दिए।
विशेषगरी कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोंगबु, चाबहिल लगायत क्षेत्रमा रहेका बसपार्कहरूको निगरानी ड्रोनबाट गर्ने प्रहरीको योजना छ।
‘यसरी ड्रोनबाट निगरानी गर्दा कुनै घटना हुनबाट जोगाउन वा नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘घटना भइहाले अनुसन्धानमा समेत सहयोग हुनेछ।’
१२ स्थानमा प्रहरी परिसरले सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ।
त्यस्तै काठमाडौं भित्रिने नाकाहरूमा तालिम प्राप्त कुकुरसहित चेकजाँच गरिने भएको हो।
प्रहरीले ‘नागरिक स्वयंको सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी’ नारा तय गरेको हो।
दसैँतिहारलाई लक्षित गर्दै १४ वटा क्षेत्रहरू विभाजन गरी सुरक्षा दिने योजना प्रहरीले बनाएको छ।
जसको कमाण्ड डिएसपीले गर्ने र १० जनाको टोली रहने एसएसपी रजौरेले बताए।
त्यस्तै पैदल गस्तीलाई पनि दुई वटा वर्गीकरण गरिएको छ। दुई वटा लामो रूटहरूमा तीन दिने र छोटो दुरीका ४२ वटा रूटमा एक दिने गस्ती रहने पनि प्रहरीले जनाएको छ।
त्यस्तै क्यामरासहित बोकेको इ-क्युआरटी ७६ वटा सवारी गस्ती रहनेछ भने २४ वटा मोबाइल गस्ती रहने प्रहरीले जनाएको छ।
सूचना संकलन गर्न ३८ वटा टोली सादा पोशाकमा खटिनेछन्। खोज तलासका लागि २८ वटा र २२ वटा एम्बुस टोली रहने प्रहरीले जनाएको छ।
कुनै ठूलो घटना हुने भएमा ३ वटा टोली भने स्ट्यान्डबाइ रहने एसएसपी रजौरेले बताए।
त्यसैगरी नाकाहरूमा कुकुरसहितको टोली खटिने भएको छ। तालिम प्राप्त कुकुरसहितको टोली खटिँदा घटना न्यूनीकरण गर्न सकिने प्रहरीले जनाएको छ।
कुनै पनि घटना हुन सक्ने भन्दै बसपार्क, नाका क्षेत्रमा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ।