उत्तरदायी शिक्षाका लागि नागरिक समाज सशक्तीकरण (सिएसई) परियोजना सुर्खेतमा लागु गरिएको छ।
यो वर्षदेखि सुर्खेतको गुर्भाकोट र लेकवेशी नगरपालिकामा लागु हुने परियोजना बिहीबार सार्वजनिक गरिएको हो। शिक्षाको क्षेत्रमा काम गरिरहेको कारखाना समूहले यो परियोजना लागु गर्न थालेको हो।
नवीन र समावेशी शिक्षा, डिजिटल रूपान्तरण, आपतकालीन शिक्षा, जलवायु र जलवायु शिक्षाका लागि परियोजनाले काम गर्ने कारखाना समूहका कार्यक्रम व्यवस्थापक मोहन बुर्जा मगरले जानकारी दिए।
शिक्षा क्षेत्रको नीति र कार्यान्वयनमा पारदर्शिता तथा जवाफदेहितालाई प्रवर्द्धन गर्ने, पारदर्शी र जवाफदेही शिक्षा नीतिको अनुगमन तथा वकालतमा नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, नागरिक समाज संस्थाहरूको दिगो विकास लक्ष्यमा काम गर्ने प्रक्रिया तथा अरू राष्ट्रिय अनुगमन संयन्त्रहरूमा सक्रिय सहभागिता बढाउने परियोजनाको उद्देश्य रहेको छ।
यो परियोजना लागु भएका क्षेत्रमा सिकाई समूह निर्माण गरेर काम गर्ने बुर्जा मगरले बताए। सिकाई समूहमार्फत प्रमाणमा आधारित वकालत, शिक्षामा परम्परागत रुपमा सीमान्तकृत आवाजलाई प्रवर्द्धन, शिक्षा नीति निर्माण तथा कार्यान्वयनमा स्थानीय तहलाई सहयोग गरिनेछ।
तीन वर्षका लागि लागु गरिएको यो परियोजनाको उद्देश्य प्राप्तिका लागि ३० महिनाको समय राखिएको छ।
सिकाई समूहमार्फत बाल विकास शिक्षाको पहुँचमा असर पार्ने कारकहरूको मूल्यांकन गर्न उपकरण निर्माण, बाल विकास कक्षा र शिक्षकहरुको गुणस्तर मूल्यांकन गर्ने उपकरण निर्माण गरिनेछ। बालविकास शिक्षाको महत्वका बारेमा जनचेतना अभियानहरू सञ्चालन गर्ने, स्थानीय स्तरका नीति तथा योजनाहरू कार्यान्वनयका बारेमा निगरानी गर्ने काम पनि सिकाई समूहमार्फत गरिनेछ।
शिक्षा मन्त्रालय, अमेरिकी दूतावास तथा विभिन्न निकायसँग मिलेर काम गरिरहेको कारखाना समूहले शिक्षाको क्षेत्रमा काम गरिरहेको छ। कारखाना समूहले कर्णालीबाहेकका मधेश र बागमती प्रदेशमा पनि काम गरिरहेको छ।
हालसम्म २० हजार भन्दा बढी विद्यार्थी, १ हजार ३०८ जना युवा, ५३५ जना शिक्षक, ६२ विद्यालय, ३३ स्थानीय तह र ४ हजार ११५ जना समुदायका सदस्य कारखाना समूहका परियोजनामा सहभागी भएको कार्यक्रम व्यवस्थापक बुर्जा मगरले बताए।