बैतडीमा भारतबाट घर फर्किंने क्रममा भीरको बाटोबाट चिप्लिएर लड्दा एक युवक महाकाली नदीमा बेपत्ता भएका छन्।
शुक्रबार बिहान ११ बजे दशरथचन्द नगरपालिका–८ झुलाघाट बजार नजिकै भिरालो बाटोमा हिँडिरहेका युवक महाकाली नदीमा बेपत्ता भएका हुन्।
महाकालीमा बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी छन्।
उनी घरबाट एक महिना अघि मात्रै कमाउन पिथौरागढ गएका थिए।
झुलाघाटको पुल तरेर वारि गाडी लाग्ने ठाउँ छ। त्यहाँ पुगेर अमरले आफूले ल्याएको सामान जिपमा हालेका थिए। उनी आफू भने जिपमा सामान हालेर पैदल हिँडिरहेका थिए।
बाटो साँघुरो र भिरालो थियो। पैदल हिँडिरहेका उनी लडेर तल खसे। १५ मिनेटसम्म उनी झारपातमा अडिएका थिए। स्थानीयले उनलाई माथि ल्याउने कोसिस गर्दा महाकालीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुद प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
अहिले बेपत्ता भएका अमरको महाकाली नदीमा खोजी कार्य भइरहेको छ।