मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशय भरिएको छ।
बिहीबार रातिदेखिको अविरल वर्षाले इन्द्रसरोवर नामले चिनिने कुलेखानी बाँधमा पानी भरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले कुलेखानी जलाशय भरिएकोले सतर्कता अपनाउन आग्रह गरिएको सेतोपाटीलाई बताए।
साथै गाउँपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै जलासय भरिएकोले जुनसुकै बेला ढोका खोलेर निकास पठाउनुपर्ने उल्लेख गरेको छ।
गाउँपालिकाले वडा नम्बर २ र ३ का बासिन्दालाई सतर्क रहन भनेको छ।
शुक्रबार बिहान ९ बजे पानीको सतह १५ सय २५ मिटर रहेकोमा शुक्रबार अपराह्न १५ सय २६.७७ मिटर पुगेको छ। १५ सय ३० मिटर पानीको सतह पुगेपछि पोखिन थाल्छ। त्यसकारण ड्यामको सुरक्षाका लागि आज राति वा भोलिसम्म ढोका खोलेर पानी पठाउने तयारी रहेको कुलेखानीस्थित विद्युत आयोजनाले जनाएको छ।
यसअघि २०७६ असार ३० गते पनि कुलेखानी जलाशय भरिएको थियो।