लगातारको वर्षापछि नारायणघाट-मुग्लिन सडक खण्डको ९ किलोमा सडक भासिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार सडक दुई फिट भासिएको छ।
सडक भासिएर बग्ने क्रम जारी रहेको र सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उक्त गाडीमा चालक र यात्रु छैनन्।
पहिरोले पृथ्वी राजमार्ग र नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गको घोप्टेभिर, मौवाखोला, दतिखोला र पानी धारामा पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध छ।
नारायणघाट-मुग्लिन सडकको टोपे खोला नजिक पहिरो झरेर यायायात दुईतर्फै बन्द छ। केराबारी, घुमाउने र सिमलतालमा पनि पहिरो झरेको डिएसपी भेषराज रिजालले बताए।