सप्तकोशी नदीसहित प्रदेशका बहुसंख्यक नदीहरुले खतराको तह पार गरेपछि प्रदेश सरकारले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
बाढीपहिरोका कारण शनिबार बिहानसम्ममा कोशीमा पाँच जनाको मृत्यु भइसकेको छ भने कम्तीमा आठ जना बेपत्ता छन्।
कोशी नदीले खतराको तह पार गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा अंगका प्रदेशस्थित प्रमुखहरु कोशी बराजतिर लागेका छन्। त्यसक्रममा मुख्यमन्त्री कार्कीले मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै उद्धार राहतमा जुट्न निर्देशन दिएका हुन्।
‘मुख्यमन्त्री ज्यूले सबै सुरक्षा अंगलाई उद्धार र राहतमा जुट्न निर्देशन दिनुभएको छ’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भने ‘अहिले मुख्यमन्त्री सप्तकोशी बराज परिसरमा निरीक्षण गर्दै हुनुहुन्छ। उहाँले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ।’
कोशीमा पानीको बहाव उच्च भएको छ।
‘मुख्यमन्त्री कार्यालयमा प्राप्त सूचना अनुसार प्रदेशका सबैजसो खोला नदीहरुमा जलसतह बढेको बढ्यै छ’, लुइँटेलले भने ‘त्यसैले जोखिम उच्च भएको छ। सरकारले यस्तो बेलामा उच्च सतर्कता अपनाउन अपिल गरेको हो।’
लगातारको झरीले डुबान भएपछि मोरङमा एक सयभन्दा बढी परिवार विस्थापित भएका छन्।