नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ।
नदीको सतह बढेर खतराको तह पार गरिसकेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ।
देवघाटमा रहेको मापन केन्द्रमा अहिले नारायणी नदीको सतह ११.४३ मिटर देखिएको छ। यहाँ ७.३ मिटर पानीको सतह पुग्दा सतर्क रहन सूचित गरिन्छ। ९ मिटर कटेपछि खतरा मान्ने गरिन्छ। नदीको सतह खतराको तहदेखि २ मिटरभन्दा माथि पुगिसकेको छ।
यहाँ नदीमाथि राखिएको राडरले पानीको सतह मापन गर्छ।
जल मापन केन्द्र देवघाटका कर्मचारी मदन अधिकारीले यहाँ नदीको सतह २०५० सालमा एक पटक ११ मिटर पुगेको थाहा पाएको बताए। त्यसपछि सतह यतिधेरै माथि पुगेको थाहा नपाएको उनले बताए।
नारायणघाटस्थित नारायणी पुलमा पनि पानीको सतह १३.४३ मिटर पुगेको छ।
यहाँ ११ मिटरलाई सतर्कताको तह मानिन्छ। नदीमा आएको बाढीले देवघाटमा रहेका धेरै वृद्धाश्रम तथा मन्दिरहरू डुबानमा परेका छन्। नारायणघाटमा पनि किनारका धेरै घरहरू डुबेका छन्। डुबान क्षेत्रका बासिन्दालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
पश्चिम चितवनमा पर्ने भरतपुर–१६, २५, २६ र २७ मा बाढीले जमिन कटान गर्नुका साथै डुबान गरेको छ।
२०१४ सालमा चितवन आएका नारायणघाट निवासी ७० वर्षीय कुलराज श्रेष्ठले नारायणी नदीमा यति धेरै पानी बगेको कहिल्यै नदेखेको बताए।
‘२०१८ सालमा नदी निकै ठूलो देखेको थिएँ। त्यसपछि अहिले नै यति बढेको देखेको,’ उनी भन्छन्, ‘मेरो जीवनमा नारायणी त्यति ठूलो भएको कहिल्यै देखेको छैन।’
राप्ती, बुढी राप्ती, रिउलगायतका नदीहरूमा पनि पानीको सहत बढिरहेको विभागले जनाएको छ।
मकवानपुरको रजैयास्थित मापन केन्द्रले राप्ती नदीको सतह ३.४९ मिटर देखाएको छ। यहाँ ३.७० मिटर पुग्दा खतरा मानिन्छ। सतर्कताको तह ३.३० मिटरलाई मानिन्छ। राप्ती र बुढी राप्तीले मकवानपुरको प्रतापपुर, नयाँबस्ती, सुनाचुरी क्षेत्रमा क्षती पुर्याएको स्थानीय शंकर राईले बताए।
नदी नजिकका खेत र बस्तीमा पानी पसेको उनले बताए।
राप्ती र बुढी राप्तीमा पानीको सतह बढ्दै जाँदा पर्यटकीय क्षेत्र सौराहामा पनि जोखिम बढेको छ। त्यस क्षेत्रमा नदी आसपासका घरहरूमा डुबान सुरू भएको छ।
रिउ नदी बढ्दा माडीको बनकट्टा क्षेत्रमा डुबान भएको छ। त्रिशूली नदीको बाढीले चितवनको इच्छाकामना–४ धारापानी र गोरखाको शहिद लखन गाउँपालिका–४ छेपेटार जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
अविरल वर्षाले भरतपुरका सडकहरू पनि जलमग्न बनेका छन्। सडकहरू जलमग्न बन्दा साना सवारी साधन तथा पैदल यात्रीलाई समस्या परेको छ। भरतपुर–१० का चित्र बरालले महत्वपूर्ण सडकहरू नै जलमग्न बन्दा अति आवश्यक काम पर्नेहरू समस्यामा परेको बताए।