शनिबार बिहानैदेखि बढ्न थालेको सप्तकोशी नदीको बहाव लगातार उकालिँदै गएपछि स्थानीय प्रशासनले सप्तकोशी पुलबाट हुने आवतजावतमा रोक लगाएको छ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले शनिबार अपरान्ह एक सार्वजनिक सूचना जारी गरेर आज ४ बजेपछि पुलबाट हुने आवतजावत बन्द गरेको हो।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिससमेत आवतजावत गर्न नपाउने उल्लेख छ। प्रशासनले वैकिल्पक बाटो प्रयोग गर्न भनेको छ।
कोशीको चतरा खण्डमा अर्को पुल छ। उदयपुर हुँदै सवारीसाधनहरू चतराबाट दक्षिण झरेर पूर्व पश्चिम राजमार्गको इटहरी निस्कन सक्छन्।
सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको छ।
शनिबार सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी ब्यारेज प्रशासनले जानकारी दिएको छ।
शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो। ३ बजेपछि बढेर ५ लाख २१ हजार पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ।
यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो।
अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी ४ लाख ४० हजार क्यूसेक बहाव पुगेको थियो।
यसअघि १९८९ मा सप्तकोशीको ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा उल्लेख छ।
सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।