बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृति सहितको निर्माणाधीन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको सुन्दा खुसी लागेको बताए।
उनले प्रविधिलाई समेत प्रयोग गरेर कला क्षेत्रलाई बिक्री गर्न सक्नुपर्ने र विदेशबाट डलर आम्दानी गर्नुपर्ने बताए।
मुख्यमन्त्री लामाले यस परियोजनामा बागमती प्रदेशले केकस्तो सहयोग गर्न सकिन्छ, छलफल गरेर सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो परियोजना नेपाल आर्ट भिलेजको मात्रै नभएर अब बागमती प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ हुनुपर्ने बताइन्।
उनले आर्ट भिलेजलाई नमूना परियोजनाका रूपमा अगाडि बढाउन सकिएमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने बताइन्।
सबै तह मिलेर यस परियोजनालाई सफल बनाउनुपर्ने उनले बताइन्। यस परियोजनालाई सहयोग गर्न ललितपुर महानगरपालिका तयार रहेको उनले बताइन्।
नेपाल आर्ट भिलेजका अध्यक्ष राजेन्द्र शाक्यले नयाँ पुस्तालाई परम्परागत कला, हस्तकला लगायतको जगेर्ना र चिनाउने तथा नेपाली युवालाई कला संस्कृतिलाई जोगाइराख्नका लागि यो परियोजनाले विशेष भूमिका खेल्ने बताए। सत्यमोहन जोशी स्मृति पार्कमा समेत आर्ट भिलेजको सहयोग रहने उनले बताए।
२०८१/८२ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ भैरवको मूर्ति निर्माण कार्य भइरहेको नेपाल आर्ट भिलेजका संस्थापक एवम् प्रवक्ता रूपकमान महर्जनले बताए।
यो मूर्ति विश्वकै अग्लो भैरवको मूर्ति हुने र यसले बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने महर्जनले बताए। एक दिनमा १ हजार २ सयभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ।
म्युजियम, साहसिक खेल, भोजनालय, वनस्पति उद्यान लगायत समेत सो परियोजनामा निर्माण हुने उनले बताए। यस सम्पदा ग्राम क्षेत्रले नेपालको मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार समेत गर्ने उनको विश्वास छ।