अविरल वर्षातका कारण बाढी—पहिरो जाँदा सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिकाको सिन्धु बिच रिसोर्टपछाडि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी दुई जना बेपत्ता छन्। भोटेकोसी किनारमा रहेको उक्त बिचबाट १५ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए।
जुगल गाउँपालिकाको वडा नम्बर १ कुने गाउँमा पहिरोमा चार जनाको मृत्यु भएको उनले बताए।
लिसुङ्खुपाखरमा पनि मानवीय हताहतीको खबर आएको उनले बताए। त्यहाँ एक ठाउँमा दुई जनाको मृत्यु भएको छ। लिसङ्खुपाखरकै वडा नम्बर ३ मा एउटा घर पुरिँदा आमा र दुई जना बालबालिकाको मृत्यु भएको छ। उनीहरूको शव निकाल्ने प्रयास भइरहेको उनले बताए।
काठमाडौं—सिन्धुपाल्चोकजोड्ने अधिकांश सडक पहिरोले अवरूद्ध तुल्याएको उनले बताए। सदरमुकाम चौतारा जोड्ने सडक वनदेउमा अवरूद्ध छ।
त्यस्तै साँखु—काउलेदोभान सडक पनि अवरूद्ध छ।
यसैबीच अरनिको राजमार्गअन्तर्गत तातोपानी भन्सार नाका जोड्ने दुई वटा पुल भोटेकोशी नदीले बगाएको छ। लिपिङको पक्की पुल र लार्चामा रहेको बेलिब्रिज भोटेकोशीले बगाउँदा तातोपानी नाकासँगको सम्पर्क टुटेको उनले बताए।