बाढीपहिरोमा परेर कोशी प्रदेशमा शनिबार अपराह्नसम्ममा १० जनाले ज्यान गुमाएका छन्। हालसम्म ८ जना बेपत्ता छन्।
पहिरोले पुरिएर सबैभन्दा धेरै पाँचथरमा पाँच जनाको मृत्यु भएको छ। सोलुखुम्बु र धनकुटामा पहिरोले २–२ जनाको ज्यान लिँदा इलाममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बुको टाप्टिङमा दुई जनाको मृत्यु भएको छ।
सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको वडा अध्यक्ष होमबहादुर मगरले जानकारी दिए।
पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएको उनले बताए। घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडाध्यक्ष मगरले बताए।
घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तरमा पर्छ।
सडकका ठाउँठाउँमा पहिरो खसेर अवरूद्ध हुँदा शव पोष्टमर्टमका लागि लैजान नपाइएको उनले बताए।
पाँचथरको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। कोशीको यो पूर्वी पहाडी जिल्लामा बिहीबार रातिदेखि लगातार झरी जारी छ।
लगातारको झरीले फरक–फरक ठाउँमा पहिरो जाँदा पाँचथरमा पाँच जनाको मृत्यु भएको हो।
फिदिम १२ घर भएकी फिदिम ४ मा बस्दै आएकी ५ वर्षे छोरी डोल्मा शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ। त्यसैगरी, फिदिम ८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राई र फिदिम १ दुमाका ५० वर्षका गोपी विश्वकर्माको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार उनीहरू आमाछोरा त्यहाँ पाहुना आएका थिए।
‘उहाँहरूको घर अर्को वडामा रहेछ, फिदिम नगरपालिका–४ चिसापानी स्थित फुर्लु शेर्पाको घरमा पाहुना आउनुभएको रहेछ,’ दाहालले भने, ‘उहाँहरू आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किचेर दुबै जनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो।’
मृतक रञ्जना राईका छोरा बिपिन राई घाइते भएका छन्। जिल्ला अस्पताल पाँचथरमा उनको उपचार भइरहेको छ।
शनिबार बिहान बिहान पाँचथरको फिदिम नगरपालिका १ साँगेबोटमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा सो घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाइड्रो पावरका कर्मचारी फिदिम १ का ५० वर्षीया विश्वकर्माको मृत्यु भएको प्रहरीको भनाइ छ।
पहिरोले हाइड्रोपावरकै कर्मचारी फिदिम १ का ५१ वर्षीय कृष्ण दास र उनको ४२ वर्षीय श्रीमती कमला दास, फिदिम १ का ५५ वर्षीय धनकुमार तुम्वापो र फिदिम १ की २१ वर्षीया सरस्वती तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन्।
धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी २ जनाको मृत्यु भएको थियो।
पाख्रीबास–५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा पुरेर उनकी ३२ वर्षीया श्रीमती आशा तामाङ र सासूआमा ५० वर्षीया रामकुमारी तामाङको घटनास्थलमा नै मृत्यु भएको छ।
सोही घरमा रहेकी छिमेकी २४ वर्षीया मिनमाया तामाङको उपचार भइरहेको छ।
यसैगरी छथरजोरपाटी गाउँपालिका २ का चन्द्र बहादुर मगरको घरमा पहिरो खस्दा उनकी २० वर्षकी छोरी सृजना मगर घाइते भएकी छन्।
इलाममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो। बाढीमा परेर झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका छन्।