बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकामा मात्रै २ हजार घर डुबानमा परेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार शनिबार काठमाडौँमा एक हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन्।
काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको पनि एसएसपी घिमिरेले जानकारी दिए। उनका अनुसार हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए।
विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।
बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार १०० र भक्तपुरमा ३५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए।