कोशी प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुमा पहिरोमा परेर थप तीन जनाको मृत्यु भएको छ।
योसँगै सोलुमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ। पाँचथरमा पनि पाँच जनाको पहिरोबाटै ज्यान गएको, धनकुटामा २ जना र इलाममा बाढीले बगाएर १ जना गरी १३ जनाको मृत्यु भइसकेको छ।
सोलुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार दिउँसो सोलुदुधकुण्ड नगरपालिका–१० का दुई जनाको पहिरोले ज्यान लिएको थियो भने अपराह्न सोही नगरको वडा नम्बर ९ को छेवाडाँडा भन्ने ठाउँमा तीन जनाको मृत्यु भएको छ।
‘पहिरोले तीन जनाको ज्यान गएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको छ, प्रहरी नपुगेसम्म नाम वतन भन्न मुस्किल छ,’ उनले भने।
बाढीपहिरोमा परेर कोशी प्रदेशमा शनिबार रातिसम्ममा १३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म ८ जना बेपत्ता छन्।