सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै जाँदा नदीको पानी बस्तीतिर सोझिन थालेको छ। उदयपुर जिल्लाको बेलका नगरपालिका क्षेत्रतिर कोशीको पानी बढेर पस्न थालेको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले दिएको जानकारी अनुसार दुई वर्ष घि बस्तीतिर पसेको ठाउँबाटै यसपटक पनि पानी 'ओभरफ्लो' भएर बस्तीतर्फ पसेको छ। यो ठाउँ बेलकाको डुम्रीबोटेभन्दा दक्षिणको समतल क्षेत्रबाट पश्चिमतिर पानी पसेको हो।
'दुई वर्षअघि पनि त्यही ठाउँबाट पानी बस्तीतिर सोझिएको रहेछ। अहिले पनि त्यहीँबाट र त्योभन्दा थोरै मास्तिर दुई ठाउँबाट पानी बस्तीतिर गइरहेको छ,' घिमिरेले भने, 'बहाब लगातार बढेका कारण अझै धेरै पानी बस्तीतिर जाने खतरा छ।'
नदीको पानी बस्तीतिर सोझिएपछि स्थानीय प्रशासनले बेलका ३ का १२७ जनालाई सुरक्षित स्थानतर्फ लगेको प्रजिअले जानकारी दिए।
'टापूहरूको बीचमा रहेका धेरै व्यक्तिहरू घर छाडेर हिँड्न मान्नुभएन,' उनले भने, 'हामीले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तैनाथ राखेका छौं।'
दुई वर्षअघि यही ठाउँबाट कोशीको भँगालो गाउँतिर पस्दा सयौं गाउँले विस्थापनमा परेका थिए।