मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ। सबैको शव सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए। बाँकी ३४ जना विद्यार्थी पनि हेलिकप्टरमै काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
शनिबार बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधका दुइटा ढोका खोलेर पानी बाहिर पठाएको थियो। बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आयो। त्यही बेला वत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको छ। एन्फाको विज्ञप्तिअनुसार मकवानपुर हेटौंडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, काठमाडौंका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी छन्।
अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन्। जिल्ला संयोजक घलानले सामाजिक सञ्जालमा छोरालाई बचाउन नसकेको बताएका छन्।
सिस्नेरी खोलामा आएको बाढीले स्थानीयको ३० वटा घर बगाएको सिस्नेरी प्रहरीले जानकारी दिएको छ। स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिले आफन्तकामा शरण लिएर बसिरहेको सिस्नेरी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार मकवानपुरको बागमती गाउँपालिका–३ फापरबारीस्थित रहरसिंह थिङकी छोरी २० वर्षीया फूलमाया थिङको आफ्नै घर भत्किँदा घरले चेपिएर निधन भएको छ।
हेटौंडाबाट बागमती हुँदै सिन्धुली जाने धरानचतरा मार्गको बागमती पुलमा बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। बागमती पुलको छेउमा करिब सय मिटर सडक खोलाले बगाएको बताइएको छ।
हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक पहिरोका कारण अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथ, कान्ति राजपथमा पनि पहिरो आएपछि यातायात अवरूद्ध छ।