सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सङ्केत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढिको रेकर्ड बनाएर विस्तारै घट्न सुरु भएको छ।
आइतबार विहान कोशी ब्यारेजमा सवैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो। अहिले जलसतह घट्न थालेको छ। पछिल्लो विवरण अनुसार अहिले ६ लाख ५५ हजार ५ क्युसेक बहाव मापन भएको छ।
उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो।
शनिबार साँझदेखि देशभर पानी पर्न रोकिएपनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो। कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक रहेको छ ।
बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आकलन गरिएको थियो। जुन हालसम्मको अधिकतम बहावको नजिक हुने जनाइएको थियो।