पानीको बहाब उच्च भएर शनिबारदेखि उदयपुरको बेलका नगरपालिका क्षेत्रतिर पसेको कोशीको भंगालोले ११ सय भन्दा बढी घरपरिवारलाई डुबानमा पारेको छ। त्यसक्रममा एक जना ६५ वर्षीय वृद्ध सम्पर्कविहीन छन्।
बेलका नगरपालिका-२ का ज्ञानबहादुर लिम्बू शनिबार साँझ ७ बजेदेखि सम्पर्कमा नभएको र उनको खोजी भइरहेको मेयर अशोक कार्कीले जानकारी दिए।
‘उहाँ ७ बजेसम्म घरैमा रहेको जानकारी पाएका छौं त्यसपछि सम्पर्कमा हुनुहुन्न। खोजी भइरहेको छ,’ उनले भने।
शनिबार दिउँसोदेखि उदयपुरको बेलकातिर सोझिएको कोशीको भंगालोले बेलकाका ४ वटा वडालाई डुबानमा पारेको हो। नगरपालिकाले दिएको जानकारी अनुसार बेलकाको वडा नम्बर २, ३, ८ र ९ नम्बर वडाका ११५४ घर डुबानमा परेको छ।
मेयर अशोक कार्कीले दिएको जानकारी अनुसार कोशीमा पानीको बहाव घट्दै जाँदा मानव बस्तीतिर सोझिएको पानीको बहाब पनि कम हुँदै गएको छ।
‘अहिले पानीको बहाब घटेको छ तर डुबानका कारण प्रभावितहरू घरमा बस्ने अवस्था बनेको छैन,’ उनले भने, ‘११५४ परिवार पूरै प्रभावित भएका छन्।’
उनका अनुसार बेलका-२ का ४७९ परिवार, ३ का ४६४, ८ का ५९ र ९ नम्बर वडाका १५२ घर परिवार डुबानमा परेका छन्।
मेयर कार्कीले दुई वर्ष अघि बाँध फुटाएर कोशी पसेको क्षेत्र र त्यसको एक किलोमिटर आसपासका क्षेत्रबाट नदीको पानी मानवबस्तीतिर छिरेपछि चार वडाका घरहरु डुबानमा परेका हुन्।
डुबान प्रभावित क्षेत्रमा अहिले पनि कोशीको बाढी बगिरहेको छ। तर, बहाव भने घटेको छ। आइतबार बिहानसम्म पनि खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पानीको बहाव अहिले भने लगातार घटिरहेको छ।
आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा अहिले साढे दुई बजेको अवस्था त्यसको आधा छ। साढे दुई बजेको मापन अनुसार कोशीमा ३ लाख ९८ हजार ३७० क्युसेक पानीको बहाव छ। जलसतह घट्दै गएपछि कोशी तटीय क्षेत्रमा कटानको जोखिम बढ्न सक्ने सम्भावना स्थानीयबासीको छ।
यसअघि सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सङ्केत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढिको रेकर्ड बनाएको थियो। झरी रोकिएपछि आइतबार बिहानदेखि जलसतह विस्तारै घट्न सुरू भएको थियो।
‘पानीको बहाब घट्दै गएको छ,’ मेयर कार्कीले भने, ‘मौसम यही रूपमा सफा रह्यो भने डुबान प्रभावितहरूलाई राहत हुने आशा छ।’