नेकपा (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ।
आइतबार बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।
माओवादी केन्द्रले माताहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। उक्त केन्द्रीय राहत कोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरूले दस–दस दिनको पारिश्रमिक जम्मा गर्ने माओवादी केन्द्रले बताएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।
पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
पदाधिकारी बैठकको निर्णयानुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ।
विपदको सामना गर्न पार्टी पंक्ति, जन वर्गीय संगठन र मोर्चाहरूलाई विपद् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।