बिहीबार रातिदेखि परेको पानीले शनिबार रोशी गाउँपालिकाको तीनवटा बस्ती नै बगायो। रोशी गाउँपालिका वडा नम्बर १,९ र ११ झण्डै ४० घर बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको छ।
ठूलो भौतिक क्षतिसँगै ११ जनाले ज्यान गुमाउनु परेको छ भने १ जना अझै बेत्ता छन्। बाढी पहिरोमा परेर घाइते भएका १६ जनालाई पालिकाले उद्धार गरेर धुलिखेल अस्पताल पुर्याइएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।
'रोशी खोलाले यति भयङ्कर रूप लिएको यसअघि कहिले देखेको थिइनँ,' अध्यक्ष लामाले भने, 'यहीँ हुर्केबढेका मान्छेहरूले पनि रोशीको यो रूप देखेको थिएनन्।'
देशव्यापी रूपमा पानी पर्ने खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती थियो। बिहीबारदेखि नै खुल्न नसकेको आकाशले रोशी गाउँबासीको मात्र होइन, देशभरकै अवस्था उस्तै थियो।
बिहीबार रातिदेखिको वर्षाले शुक्रबार साँझसम्म रोशी खोलाको बहाव बढेको थियो। पालिकाभित्रका र पालिका आउने मुख्य सडक अवरूद्ध भयो। त्यतिबेलासम्म पालिकामा त्यतिधेरै भौतिक क्षति भएको थिएन।
शनिबार बिहान रोशी खोलाको स्वरूप फेरियो। रोशी खोलाको आसपास बनेका बस्तीलाई निशानामा पार्यो। आसपासमा भएका घरहरूलाई मात्र सोहोरेन रोशीले, आफ्नो लय फेरेर दायाँबायाँ हुँदै बस्तीमै छिरेको उनी बताउँछन्।
'रोशी बस्ती छिरेसँगै बाढीले पहिरो तान्न थाल्यो, खोलाले तान्दै जाँदा डाँडासम्मकै भाग खोलामा मिसियो,' उनले भने,'नदी आसपासमा घर भएकाहरू पहिला नै सचेत थिए, माथिल्लो भेगमा बसेकाहरू घरसँगै बगे।'
उनले थपे- 'माथिल्लो भेगमा बसेकाले डाँडा नै बगाउँछ भन्ने कल्पना पनि गरेका थिएनन्। त्यसैले ज्यान गुमाउनुपर्यो।'
उनका अनुसार बिहानपख वर्षातको समय भए पनि खेतबारीमा निस्किएकाले धेरै मान्छेहरू बाँचे। यदि त्यही बाढी रातको समयमा भएको भए ठूलो मानवीय क्षति बेहोर्नुपर्ने थियो।
भित्र्याउने बेला भएको धानखेती सखापै पार्यो। बाढीले सोमबारसम्म पुरानो लयमा फर्किए पनि त्यसले पुर्याएको क्षतिबारे भने आकलन गर्न नसकिएको उनी बताउँछन्।
पालिकाको प्रारम्भिक विवरण अनुसार वडा नम्बर १ मा पर्ने फलामे साँघुका १६ घर, वडा नम्बर ९ को नार्केमा १२ घर र वडा नम्बर ११ को कालढुंगामा १४ घर ध्वस्त बनाएको छ। यसबाहेक अलिअलि क्षति पुगेको र बस्न योग्न नभएकाहरूको विवरण संकलन गर्नसक्ने अवस्था नभएको अध्यक्ष लामाले जानकारी दिए।
'तीन बस्तीका ३ सयभन्दा बढी स्थानीय बेघर भएका छन्, कति क्षति पुर्याएको छ भनेर आकलन गरिसकिएको छैन,' अध्यक्ष लामाले भने, 'अहिले घाइतेलाई उद्धार र बेघरलाई सुरक्षित ठाउँमा राख्नेमात्र काम गरिएको छ।'
वडा नम्बर १ र २ का दुई सय जनालाई वडा नम्बर २ को लक्ष्मीनारायण माध्यमिक विद्यालयमा राखिएको छ। ९ वडाको ५० जना नक्सालटार भन्ने बस्तीमा बसिरहेका छन् भने ११ नम्बरको ५०/६० जनालाई शान्तिबुद्ध स्कुलमा राखिएको उनी बताउँछन्।
उनीहरूलाई पालिकाले नै राहत दिएर राखिराखेको छ। स्कुलमा बसेकाहरूलाई जिल्लाले पनि राहत दिएको छ। त्योबाहेक अन्य कुनै पनि कार्य गर्न नसकेको उनी बताउँछन्।
'पालिका अहिले पनि उद्धारमै खटिएको छ, घाइते र बिरामीलाई अस्पताल ल्याउने र बाँचेकालाई खुवाउनेबाहेक अरू केही गर्न सकिएकै छैन,' उनले भने, 'बाढी गएका बस्तीमा पुग्न सक्ने अवस्था छैन। विद्युत सेवा र सडक नहुँदा थप सास्ती बेहाेर्नुपरेको छ।'
शुक्रबारदेखि नै विभिन्न ठाउँमा पोलहरू ढलेर बत्ती छैन। सडकहरू अवरूद्ध भएर पालिकामा खाद्यान्न समेत लैजान सक्ने अवस्था छैन। तर पनि पालिकाभित्र विभिन्न ठाउँबाट आएर अलपत्र परेका यात्रुहरूलाई सहारा दिनुको साथसाथै उद्धारमा सहयोग गरिरहेको उनी बताउँछन्।
सडकहरू र विद्युत सेवा बन्द हुँदा स्थानीयले थप समस्या बेहोर्नुपरेको छ। वडा नम्बर ११ का स्थानीय जितमान तामाङको ओत लाग्ने छानो त रह्यो। तर बुहारीलाई समयमै अस्पताल पुर्याउन नपाउँदा तीन दिनदेखि जनप्रतिनिधिहरूलाई हारगुहार गरिरहेका थिए।
उनको बुहारीलाई धुलिखेल अस्पतालले असोज १२ गते सुत्केरी हुने मिति दिएको थियो। शुक्रबार नै दुखाइ सहन नसकेपछि स्वास्थ्य चौकी लगिएको जितमान बताउँछन्।
'स्वास्थ्य चौकीमा नहुने भनेपछि शनिबार धुलिखेल लैजाने तयारीका लागि खर्च जुटाउँदैथियौं, शनिबार पानीले बित्यासै पार्यो,' उनले भने, 'बाढीले गाउँ नै बगाएपछि शनिबार अस्पताल लैजानै सकेनौं, बाटो बन्द भयो।'
उनले थपे- 'आइतबार ८/१० जनाले बोकेर घरबाट ६/७ किलोमिटर टाढा कालढुंगा भन्ने ठाउँमा पुर्यायौं। त्यहाँ रातभरि राखेर सोमबार बिहानमात्रै अस्पताल लगिएको छ। के हुने हो डर लाग्या छ।'
उनको बुहारीलाई बिहान जनप्रतिनिधिको सहयोगमा हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पुर्याइएको छ। बुढापाका बिरामीलाई पनि पालिकाले ओषधि गाउँमै लगिदिने र गाह्रो अवस्थामा मात्र अस्पताल ल्याउने काम गरिरहेको उनी बताउँछन्।
वडा ११ कै स्थानीय राजकुमार थपलिया किनारा पसल चलाउँछन्। रोशी खोलाले उनको खेतीयोग्य तीन/चार रोपनी बगाएर लग्यो। उनको घर भने खोलाबाट अलिमाथि थियो। त्यसैले आफ्नो खेत बगाएको हेरिमात्र रहेको थपलिया बताउँछन्।
'यहाँ गाउँ नै बगाउँदा पनि कोही आएका छैनन्, स्थानीय तहले अलि-अलि गरेका छन्,' उनले थपे- 'घरविहीन भएकाहरू बिजोग छ। दसैंको मुखमा बाढीले सबै लग्यो।'
वडा नम्बर ९ का स्थानीय ५१ वर्षीय कान्छामान तामाङ त्यहीँ जन्मेर हुर्के र बुढो भए। अहिलेसम्म रोशीले यति साह्रो उथलपुथल बनाएको उनलाई थाहा थिएन। उनले यसपटक ठूलो दशाबाट आफ्नो परिवार बाँचेको बताए।
उनका अनुसार उनको भाइबुहारी रोशीखोला नजिकैको पक्की घरमा एक दशकदेखि बस्दै आएका थिए। शनिबार ठूलो पानी परेपछि भाइबुहारी नै खेतमा काम गर्न गएकाले उनीहरू बाँचे।
'घर बगायो दु:ख लागेको छ तर मान्छे बाँचे भनेर चित्त बुझाउनुपर्छ भनेको छु,' उनले भने, 'गाउँ नै बगाएको छ चित्त बुझाउनुपर्छ भनेर सम्झाइरहेको छु। तर सम्झेको छैन।'
उनले थपे- 'बडो दु:खले बनाएको घर खोलामै मिसियो। चित्त बुझाउने बाटो पनि भएन।'
उनको भाइबुहारीलाई उनले नै आश्रय दिएर राखेका छन्। उनका छोराछोरी भने विदेशमा रहेको उनले बताए।
तीन दिनसम्म परेको पानीले सबैभन्दा बढी क्षति काभ्रेमै पुर्याएको छ। काभ्रे जिल्लाभरि भौतिक क्षति कति भयो भनेर जिल्लाले पनि आकलन गर्न सकेको छैन। तर सोमबार दिउँसोसम्म ५९ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक छ।
प्रहरीका अनुसार अहिलेसम्म ५२ जना घाइते भएका छन् भने ४ जना अझै बेपत्ता छन्। त्यस्तैगरी बिपी राजमार्ग अवरूद्ध भएर अलपत्र परेका र बाढीको जोखिममा रहेका ४५१ जनालाई हेलिकप्टरमार्फत् उद्धार गरेको छ भने जोखिम ठाउँबाट ३ हजार २७४ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।