चितुवा ठूलो बिरालो प्रजातिको प्राणी हो। यो बाघ, सिंहले जस्तै जंगलमा आफ्नो निश्चित क्षेत्र बनाएर एकआपसमा दूरी कायम गरि बस्छ।
उसको खास आहारा जंगलमा हुने मृग प्रजाति हो। तर चितुवाले किरा, मुसा, बिराला, कुकुर र घरपालुवा वस्तुभाउलाई पनि आहारा बनाउने गरेको छ। जंगली आहारा प्रजाति समात्नभन्दा कम मेहनत गरे पुग्ने भएकाले कुकुर, गाई, बाख्रा जस्ता जनावर चितुवाको रोजाइमा पर्छन्। जम्काभेट हुँदा आत्तिएर मान्छेमाथि पनि आक्रमण गर्नसक्छ। यो उनीहरूको प्राकृतिक गुण नै हो।
२०७९ सालको फागुनतिर टिकटकमा एउटा चितुवाको भिडिओ भाइरल थियो। त्यसमा उसको व्यवहार प्राकृतिक गुणभन्दा फरक थियो। भिडिओमा सडक किनारमा रहेको एउटा चितुवासँग मान्छेहरू जिस्किरहेका थिए। कोही उसलाई कोट्याइरहेका थिए। कोही उसको पुच्छर समातेर तानिरहेका थिए। उसको अगाडि उभिएर सेल्फी खिच्ने कुरा त सामान्य थियो। चितुवाले मान्छेका गतिविधिमा कुनै प्रतिकृया दिएको थिएन। मान्छेहरू चितुवा जस्तो आक्रामक जनावरसँग जिस्किन पाउँदा दंग थिए।
सडकमा चितुवाको त्यो हाल देखेपछि सचेत व्यक्तिहरूले उसलाई डिभिजन वन कार्यालय पुर्याइदिए। त्यहाँ पुगेको केही घण्टामा उसको मृत्यु भयो।
यो त एउटा घटना भयो। हामीले कहिले मान्छेले चितुवालाई घरपालुवा जनावरलाई झैं घाँटीमा डोरीले बाँधेर डोराउँदै हिँडाएको सुने-देखेका छौं। कहिले चितुवा हिँड्दै मान्छेको घरभित्र पसेको सुनेका छौं। एक पटक चितुवालाई मान्छेले निर्धक्कसँग काखमा बोकेको फोटो पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
विभिन्न देशमा विज्ञहरूको अनुसन्धानले जंगलभित्रको खतरानक मांसाहारी जीवको यो हालत कसरी र किन हुन्छ भन्ने कुरा पत्ता लागेको छ। नेपालका चितुवा (प्यान्थरा पार्दस) ले पनि अन्य देशकाले जसरी स्नायुसम्बन्धी घातक रोग झेलिरहेको एक अध्ययनले देखाएको छ।
विभिन्न जिल्लाबाट संकलन गरिएको नमूनाको अध्ययन गर्दा चितुवामा क्यानाइन डिस्टेम्पर भाइरस (सिडिभी) को संक्रमण पुष्टि भएको हो।
अत्याधिक संक्रामक मानिने यो भाइरसले मांसाहारी जनावरको स्नायु प्रणालीमा असर गर्छ। अध्यताहरूले सिडिभीका कारण नेपालका धेरै चितुवाहरूले घातक रोगको सामना गरिरहेको हुनसक्ने आँकलन गरेका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर षडौलाले वन्यजन्तुको क्षेत्रमा लामो समय काम गरेका अन्य विज्ञहरूको पनि सहयोग लिएर गरेको अध्ययनबाट धेरै कुकुरहरूमा देखिएको यस्तो भाइरसको संक्रमण चितुवामा पनि फैलिएको पुष्टि भएको हो।
यो अध्ययनका लागि उनीहरूले पाल्पा, दोलखा, काठमाडौं र पर्वतबाट उद्धार गरिएका चितुवाको नमूना संकलन गरेका थिए। फरक व्यवहार देखिएका चितुवामा करिब ८ वर्ष लगाएर अध्ययन गरिएको थियो। यही अवधिमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट उद्धार गरिएको अर्को चितुवाको रगत परीक्षणमा पनि यो भाइरस देखिएको थियो।
डा.षडौलाले फरक जिल्लाका नमूनामा समान भाइरसको संक्रमण देखिएकाले यसको फैलावट धेरैतिर हुनसक्ने अनुमान गरिएको बताए। नेपालमा तराईदेखि पहाडसम्मका जंगलमा चितुवा छन्। समुद्र सतहदेखि ४ हजार २६० मिटर उचाईमा पनि यो चितुवा रेकर्ड भएको छ। नेपालमा ३ हजार मिटरभन्दा माथि ६ हजार मिटर उचाईसम्म हिउँ चितुवा पनि पाइन्छ।
‘चितुवा आक्रामक वन्यजन्तु हो। उसले आफ्नो क्षेत्रमा रहेका अन्य जनावरमाथि नियन्त्रण कायम गर्छ। मानव बस्तीबाट नजिकैको जंगलमा बस्छ तर मान्छेहरूसँग सतर्क रहन्छ,’ षडौला भन्छन्, ‘जब उसमा यो सिडिभीको संक्रमण हुन्छ उसको स्नायु प्रणालीमा असर पर्न थाल्छ। मानसिक अवस्था बिग्रन्छ। उसलाई मान्छेको उपस्थितिले असर गर्दैन। पुच्छर समातेर ताने पनि, डोर्याएर हिँडे पनि मतलब गर्दैन। बेहोस भएजस्तो हुन्छ।’
नेपालमा कुकुरमामात्रै पुष्टि भएको यो भाइरस सन् २०१५ मा रूसमा साइवेरियन बाघ र चितुवामा देखिएको थियो। यो भाइरसको संक्रमणका कारण भारत, युरोप र अमेरिकामा पनि बेंगोल टाइगर (पाटेबाघ) र चितुवाको मृत्यु भएको छ। नेपालमा भने यो भाइरसका कारण कुकुरको मृत्यु भएकोमात्रै पुष्टि भएको थियो। सिडिभीको संक्रमण कुकुरको मृत्युका कारणहरू मध्ये प्रमुख एक रहेको षडौला बताउँछन्।
‘धेरै देशमा यो भाइरसको संक्रमणका कारण लोपोन्मुख तथा संकटापन्न मांसाहारी वन्यजन्तुको मृत्यु भएको पुष्टि भइसकेको छ। हामीले नेपालमा पनि चितुवामा त्यस्तै लक्षणदेखिएपछि अध्ययन सुरू गरेका थियौं। नतिजा अनुमान गरेजस्तै आयो,’ षडौलाले भने, ‘यो अध्ययन थोरै चितुवाको नमूनाको आधारमा गरियो। अब अध्ययनको दायरा अझै फराकिलो बनाउनुपर्छ। अन्य जीवमा यसको फैलावटको पनि अध्ययन गर्नुपर्छ।’
षडौलासहितका विज्ञले सन् २०१६ मा पाल्पामा उद्धार गर्न लागेको चितुवामा स्नायुसम्बन्धी रोगको लक्षण देखिएको थियो। केही समयअघि साइवेरियामा बाघ र चितुवामा देखिएकोजस्तै लक्षण पाल्पाको चितुवामा पनि देखिएपछि उनीहरूले नमूना संकलन गरेर परीक्षण गरेका थिए। पछि त्यो चितुवा मर्यो। त्यसपछि उनीहरूले सन् २०१९ दोलखाबाट त्यस्तै प्रकृतिको चितुवाको नमूना लिएका थिए।
‘सन् २०२१ मा काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको कार्यालय अगाडिको सडकमा एउटा चितुवा हिँडिरहेको थियो। त्यो चितुवामा पनि हामीले क्यानाइन डिस्टेम्पर भाइरस संक्रमण भएकै अनुमान गर्यौं र नमूना लियौं,’ उनले भने, ‘सन् २०२३ मा पर्वतको सडकमा मान्छेहरूले जिस्काइरहेको चितुवाको अवस्था त अझै खराब भइसकेको थियो। टिकटकमा भिडिओ हेरेपछि म नमूना संकलन गर्न पुगेको थिएँ।’
चितुवाले घरपालुवा र छाडा कुकुरको सिकार गर्ने भएकाले उनीहरूबाट रोग सरेको अनुमान विज्ञहरूको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख मधु क्षेत्री चितुवालाई यो रोगबाट बचाउने हो भने कुकुरहरूलाई नियन्त्रण गर्नुपर्ने बताउँछन्। कम्तीमा जंगल नजिकका बस्ती सहर र सहरोन्मुख क्षेत्रका घरपालुवा र छाडा सबै कुकुरलाई यो भाइरस विरूद्धको खोप दिन सके वन्यजन्तुमा जोखिम कम हुने उनले बताए। कुकुरका छाउरा २८ दिन पुगेपछि सिडिभी विरूद्धको खोप दिने गरिन्छ।
नेपालका बाघहरूमा भने अहिलेसम्म सिडिभी संक्रमण देखिएको छैन। समस्याग्रस्त बाघहरूलाई नियन्त्रणमा लिँदा नमूना परीक्षण गर्ने गरिन्छ। जंगलभित्र रहेका बाघमा संक्रमण भएको पत्ता लगाउन सहज छैन।
‘बाघहरू रोगले कमजोर भए भने झाडीतिर पस्छन्। त्यहीँ मर्छन्। कोर क्षेत्रमा मरेका बाघ तुरून्तै भेटिँदैन। त्यसैले के कारणले मरे भनेर ठ्याक्कै पत्ता लगाउन गाह्रो पर्छ,’ क्षेत्री भन्छन्, ‘चितुवा प्रायः मावन बस्तीको नजिकै रहने भएकाले उनीहरूको अवस्था थाहा पाउन सजिलो हुन्छ। रोगले मरेछन् भने पनि छिटै भेटिन्छ। चाहेको अवस्थामा नमूना परीक्षण गर्न सम्भव हुन्छ।’
तर नेपालमा चितुवाको विषयमा अध्ययन कम हुन्छ। समस्याग्रस्त बाघ उद्धार गर्दा कम्तीमा नमूना परीक्षण गरिन्छ तर त्यस्तै प्रकृतिका चितुवाको उद्धार गर्दा गरिँदैन। मानव बस्तीबाट उद्धार गरिएका चितुवालाई सामान्य परीक्षणसमेत नगरी फेरि जंगलमा लगेर छाड्ने चलन छ। समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गरेपछि के कारणले समस्या भएको हो पत्ता नलगाई फेरि जंगलमा लगेर छाडिदिँदा उनीहरूमा कुनै रोग रहेछ भने अन्यमा सर्ने जोखिम हुने क्षेत्रीले बताए।
नेपालमा चितुवाको गणना गरिएको छैन। तर मध्य पहाडी क्षेत्रमा मानव–चितुवा द्वन्द्वका घटना बढी देखिएकाले सो क्षेत्रमा अन्यत्रभन्दा संख्या बढी रहेको अनुमान गर्न सकिन्छ। पछिल्लो समयमा मान्छेहरू पहाडी क्षेत्रबाट बसाइसरेर तराईका सहरी क्षेत्रमा झर्नेक्रम बढेसँगै पहाडमा वन क्षेत्र बढ्दै गएको छ। सो क्षेत्रलाई चितुवाले बासस्थान बनाउँदै गएको अनुमान गर्न सकिन्छ।
मान्छेसँग द्वन्द्व बढेसँगै चितुवामाथि जोखिम पनि बढिरहेको छ। गत साउनमा धादिङमा एकैदिन तीनवटा चितुवा मृत अवस्थामा भेटिएका थिए। ती चितुवा विष सेवनका कारण मरेको आशंका गरिएको छ। मान्छेले आफूले पालेका पशु चौपाया जोगाउन चितुवा, बाघका सिकारमा विष मिसाइदिने गरेको भेटिन्छ।
तनहुँमा करिब ५ वर्षमा ३४ वटा चितुवा मृत भेटिएका थिए। पर्वतमा आर्थिक वर्ष २०७९/८० मा ९ वटा चितुवाको मृत्यु भएको थियो। तीमध्ये दुईवटाको समस्याग्रस्त भनेर उद्धार गरिएको केही समयमा मृत्यु भएको थियो। पर्वतमा चितुवालाई डोरीले बाँधेर डोराउँदै हिँडिएको भिडिओसमेत सार्वजनिक भएको थियो। पाल्पामा एकै वर्ष दशभन्दा बढी चितुवा मरेका थिए। यस्ता गतिविधिले पनि चितुवाहरू संकटमा पर्दै गएको अनुमान षडौलाको छ।
इन्टरनेशनल युनियन फर कन्जरभेशन एण्ड नेचर (आइयुसिएन) को सूचीमा चितुवा लोपोन्मुख प्रजातिमा सूचीकृत छ।
पारिस्थितिकी प्रणालीमा चितुवाको भूमिका बारे अध्ययन गरिरहेका (हाल विश्व वन्यजन्तु कोषमा कार्यरत) सशांक पौडेल चितुवामा देखिएको रोग बाघ, हिउँ चितुवा जस्ता संकटापन्न जीवमा पनि सर्ने जोखिम रहेको बताउँछन्।
रूसमा कुकुरका अलावा बिरालो, बन ढाडे, न्याउरी मुसाललगायतका साना मांसाहारी जीवमार्फत पनि यो भाइरस फैलिएको पुष्टि भएको थियो। नेपालमा पनि चितुवाले बन ढाडेको सिकार गरेको अध्ययनबाटै पुष्टि भएको थियो। पौडेल सडे गलेको, मरेको सिनो पनि खाने, रोग लागेर मरेका कुकुर, बिरालो पनि खाने मांसाहारी जीवलाई खाँदा पनि चितुवामा रोग सर्ने बताउँछन्।
चितुवा नेपालको सबैभन्दा बढी फैलिएको ठूलो मांसाहारी जीव हो। यो तराई, पहाड, हिमाल सबैतिर फैलिएको छ। बाघलाई हामी पारिस्थितिकी प्रणालीको महत्वपूर्ण सूचक मान्छौं। बाघ नभएको ठाउँमा त्यो काम चितुवाले गर्छ।
‘मध्ये पहाडका वनहरूमा मुख्य मांशहारी जीव चितुवा नै हो। हिमालमा हिउँ चितुवा, पहाडमा चितुवा र तराईमा बाघ हो। रोगको एउटा खतरा के हुन्छ भने धेरै फैलियो भने नियन्त्रण नै गर्न नसक्नेगरी संख्या घट्न सक्छ। यस्ता घटनाहरू अफ्रिकामा देखिएका छन्,’ पौडेल भन्छन्, ‘चोरी सिकारी, मानवसँगको द्वन्द्वहरू नियन्त्रण गर्न समय हुन्छ तर भाइरल रोग छिटो फैलिने भएकाले सकिने हो कि भन्ने जोखिम हुन्छ।’
चितुवा हाडखोर र छालाका लागि सिकार गर्ने गरिएको छ। मान्छेले प्रतिशोधमा विभिन्न उपाय लगाएरू मार्ने गरेका पनि छन्। नेपालमा संरक्षणका हिसाबले सबैभन्दा कम ध्यान पनि चितुवामै पुगेको छ। चितुवाभन्दा साना मांसाहारी जनावरको विषयमा अध्ययन, अनुसन्धान झनै कम भएको छ।
‘रोग बढ्दै जाने हो भने भने त जोखिम बढ्ने भयो। चितुवा तराईबाट पहाड हुँदै हिमालसम्मै भेटिएको छ। तराईमा बाघको नजिक, हिमालमा हिउँ चितुवाको नजिक देखिएको छ। अब उनीहरूमा पनि खतरा देखियो,’ पौडेल भन्छन्, ‘ठूला बिरालोहरूले कहिले काहीँ सिकार शेयर गर्छन्। कहिले इन्काउण्टर नै हुनसक्छ। चितुवामा घातक भाइरस देखिनु भनेको हिमालदेखि तराईसम्मै पुग्नु हो। यसले संकटापन्न जीवलाई झन् बढी असर पार्नसक्छ।’
उनले मानव, पशुचौपाय र वन्यजन्तुको स्वास्थ्य एक आपसमा जोडिएकोले समस्याको पहिचान भएपछि समाधान गर्न ढिला गर्न नहुने बताए।
‘पाल्पा, पर्वत तथा मध्यपहाडका धेरै ठाउँमा चितुवाको मृत्युका धेरै घटना भएका छन्। सबैको नमूना जाँच हुन पाएन। थोरै नमूनाको परीक्षण गरिएको छ तर यसले नेपालका जंगलमा पाइने चितुवामा रोगको पनि समस्या छ भन्ने त देखायो,’ उनले भने, ‘तत्कालका लागि सबै कुकुरलाई सिडिभीविरूद्धको भ्याक्सिन लगाउनु आवश्यक देख्छु।’
नेपालमा गरिएको अध्ययनमा षडौलासहित वन्यजन्तुको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विज्ञहरू प्रज्वल मानान्धर, विजयकुमार श्रेष्ठ, पर्वतजंग थापा, सुरेश नेपाली, जनार्दनदेव जोशी, बाबुराम लामिछाने, रचना शाह, मधु क्षेत्री, किरणराज रिजाल, कमलप्रसाद गैरे, नरेश सुवेदी, चिरञ्जिविप्रसाद पोखरेल, रोजी राउत, पुरूषोत्तम पाण्डे, विकल्प कार्की, गीता पाण्डे पनि सहभागी थिए।