काठमाडौं उपत्यका र पूर्वी नेपालमा वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर,भक्तपुरमा वर्षा भइरहेको छ।
काठमाडौंको बबरमहलमा पछिल्लो एक घन्टामा ३.८ मिलिमिटर र कीर्तिपुरमा १.६ मिलिमिटर वर्षा भएको छ। ललितपुरको खुमलटारमा ४ मिलिमिटर, टीकाथलीमा १८ मिलिमिटर वर्षा भएको छ।
सिन्धुपाल्चोकमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। सिन्धुपाल्चोकको मेलम्चीमा १३ मिलिमिटर, तार्के घ्याङमा १४.६ मिलिमिर वर्षा पछिल्लो एक घन्टामा भएको छ।
पूर्वी नेपालको इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सामान्यतया अक्टोबर २ (हिजो) मनसुन बहिर्गमन हुनुपर्नेमा यसपालिको लम्बिएको छ। बाहिरिन कम्तीमा एक साता लाग्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
भारतको आसाम, मेघालयमा बनेको न्यूनचापीय प्रणाली अहिले नेपालको मौसममा देखिएको छ। मनसुन सक्रिय रहेकै अवस्थामा भित्रिएको त्यस प्रणालीले अहिले कोशी, बागमती र गण्डकीसम्मै प्रभाव विस्तार गरेको छ।
पछिल्लो चौबीस घन्टामा काठमाडौंकै सुन्दरीजलमा ५१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कपनमा ४२.६ मिलिमिटर सिन्धुपाल्चोकको बासखर्कमा ६५ मिलिमिटर, मानेखर्कमा ४७.२ मिलिमिटर वर्षा मापन भएको छ।
इलामको कन्याममा पछिल्लो चौबीस घन्टामा ६९ मिलिमिटर वर्षा मापन भएको छ। पाँचथरको फिदीममा ५१ मिलिमिटर, झापाको गौरादहमा ५० मिलिमिटर, मोरङको बाहुनीमा ६०.४ मिलिमटर, मोरङकफ हरैचामा ४७.६ मिलिमिटर, सुनसरीको तरहरीमा ४२.६ मिलिमिटर वर्षा मापन भएको छ।
बिहीबार दिउँसो कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।