असोज १३ गते, बेलुकी ८ बजेको हुँदो हो।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाईखल्ला गाउँबासी सुत्ने तरखरमा थिए। कसैले उखुबारीमा हात्ती पसेको देखे। हात्ती आएको हल्ला पछि बलियोबांगाहरू हात्ती धपाउन गए।
रामदल राना पनि घरबाट निस्किए र गाउँलेहरूसँगै मिसिए। त्यतिबेला झन्डै ५५ जना गाउँले हात्ती धपाउन एकट्ठा भएका थिए। उनीहरूले तेज उज्यालो दिने टर्चलाइट बाले, आगो जलाए, जर्किन, थाला ठटाए।
त्यति गरेपछि हात्तीले अगाडि बढ्ने आँट गरेन। ऊ तत्काल उखुबारी छाडेर भाग्यो। गाउँलेहरू विजयीभावमा आ-आफ्नो घर फर्किने तयारीमा थिए। तर उनीहरूको खुसी लामो समय टिकेन।
केहीबेर अघिमात्रै धपाइएको हात्ती फनफनाउँदै आयो र गाउँलेहरूमाथि जाइलाग्न खोज्यो। हात्तीनजिकै आइसकेकाले गाउँलेहरूसँग भाग्नुको विकल्प थिएन। मानिसहरू तितरबितर भए। ठूलै भागदौड मच्चियो।
तितिरबितर भीड फेरि एककठ्ठा हुँदा रामदल नदेखेपछि गाउँका मानिसहरूकाे मनमा चिसो पस्यो। उनीहरूले हात्तीले आक्रमणमा गरेको हुनसक्ने लख काटे।
रात छिप्पिँदै गएको थियो। हात्ती उखुबारीमै छ कि भाग्यो निश्चित थिएन। अर्कातिर रामदललाई बेपत्ता थिए। त्रासदीकै माहोलमा पनि गाउँलेहरूले रातभर रामदललाई खोजे तर भेटिएनन्।
भोलिपल्ट बिहान प्रहरीलाई खबर गरे। प्रहरीसहित गाउँलेहरू बिहान पुनः खोजीमा जुटे । बिहान ७ बजे रामदल उखुबारीमा मृत भेटिए। उनको मुखबाट बगेको रगतका खाटाहरू गालामा टाँसिएका थिए।
राति नै हात्तीले रामदललाई सुँडले जकड्न भ्याइहालेछ। फनफनी सुँडले नचाएर रामदललाई भुइँमा पछारेछ। ‘बुवाको मुखबाट रगत बगेको थियो, छाती र कम्मरमा पनि चोट थियो,’ रामदलका २८ वर्षका छोरा रामकिसनले भने।
रामकिसन अहिले किरिया बसेकै अवस्थामा वडा कार्यालय धाइरहेका छन्। हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई सरकारले राहत दिन्छ भन्ने सुनेर उनी त्यसको सिफारिसका लागि प्रक्रिया पुर्याउन वडा कार्यालय पुगेका रहेछन्।
घरको बलियो खम्बा ढल्दा परिवारमाथि ठूलो ब्रजपात परेको छ। मनमा सही नसक्नु पीडा बोकेर उनी सरकारी कागजात पूरा गर्ने काममै थिए। बुवाको किरियामै रहेका बेला कागजात पूरा गर्नुपर्ने भएकाले वडादेखि गाउँपालिकासम्म धाइरहेको उनले बताए।
'बुवा नै घरको खम्बा हुनुहुन्थ्यो, खेतीपातीदेखि घरव्यवहार सबै उहाँकै काँधमा थियो। हामी टुहुरो भयौं। अब के गर्ने, कसरी गर्ने हो? थाहा छैन,' रामजनले भने, ‘हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका परिवारलाई सहयोग मिल्छ भनेकाले डकुमेन्ट, मुचुल्का मागेपछि त्यहि काममा लागेको छु।’
जाइखल्लाकै ७० वर्षीय पदम राना २० वर्षअघिसम्म गाउँमा हात्ती पसेको कहिल्यै नदेखेको बताउँछन्। उनको परिवार ३ पुस्तादेखि जाइखल्लामै छ। खेतीपाती नै उनीहरुको जिउने आधार हो।
तर पछिल्लो २० वर्षयता भने खेतीपातीबाट घाटा बेहोर्नुपरेको छ। गाउँको सिमाना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएको छ। भारतको दुधुवा राष्ट्रिय निकुञ्जको सीमाना उनको गाउँसँगै जोडिएको छ। दुवै राष्ट्रिय निकुञ्जबाट जंगली हात्ती आउँदा हरेक वर्ष खेतीपातीमा नोक्सानी भोग्नुपरेको उनले बताए।
'पहिले गाउँमा हात्ती आउँदैन थिए। २०६४ सालयता भने गाउँमा हात्तीको आतंक वर्षपिच्छे नै बढ्न थाल्यो। रातिराति गाउँ बस्ने र धान, गहुँ, उखु, मसुरो लगायतका खेतीपाती खाइदिन थाल्यो,' उनले भने।
पदमको सात बिगाहा जमिन छ। धान, गहुँ, उखु, तरकारी, मसुरो खेती लगाएका छन्। ७ बिगाहा जमिनमा खेती लगाउनै दुई लाख लगानी भएको उनी बताउँछन्।
'तर प्रत्येक वर्ष हात्तीका कारण दुईदेखि तीन बिगाहा जमिनको खेतीपाती भित्र्याउँनै पाइँदैन। मिहिनेत गरी लगाएको बाली भित्र्याउन नपाउँदा धेरै दुःख लाग्छ,’ उनले भने।
हात्तीले नोक्सानी नपुर्याउने हो भने एक सिजन खेतीपातीबाट तीन लाख भन्दा बढी बचत हुने उनी बताउँछन्। हात्तीका कारण झन्डै तीन भागको एक भाग बर्सेनि नाेक्सानी खेप्नुपरेको उनी सुनाउँछन्। ‘हात्तीलाई धान, गहुँ, घाँस, उखु मिठो लाग्दो रहेछ, यी चिज खान पाइने भएपछि गाउँलेलाई दुःख दिन थाले,’ उनले भने।
लालझाडीका अधिकांश मानिस खेतीकिसानी गर्छन्। जाइ, नन्दगाउँ, शिकलपट्टी, चानदेउ, ढक्काशिविर, कञ्ज, डुंगा, पर्सिया, नौरंगा लगायतका आसपासका गाउँमा कृषि अझै फस्टाएको छ। तर हात्तीका कारण त्यसको पूरा लाभ किसानले पाउँदैनन्।
दुई वर्षअघि लालझाडीमा दुई वटा घर हात्तीले भत्काइदियो। तर सरकारबाट केही सहयोग नपाएपछि लामो समयसम्म त्यहाँ बस्ने परिवारको बिचल्ली भएको ४२ वर्षीय खेमराजा राना बताउँछन्।
'उनीहरूले धेरै दुःख गरेर फेरि अर्को घर बनाए। सरकारले केही दिएन,' उनले भने।
हात्तीकै डरले झम्के साँझ नपर्दै मानिसहरू एउटा घरबाट अर्को घरसम्म जान पनि डराउँछन्। दिउँसै पनि एक्लैदुक्लै हिँड्न डराउँछन्। हात्तीबाट गाउँलाई सुरक्षित राख्न सम्बन्धित निकायलाई ताकेता गर्दै आए पनि सुनुवाइ नभएको खेमराज बताउँछन्।
हाती गाउँमा पसेको बेला धपाउने वा उद्धार गर्न शुक्लाफाटा राष्ट्रिय निकुञ्जको टिम हुनुपर्ने र राष्ट्रिय निकुञ्जबाट हात्ती आउने भएकाले निकुञ्जको जमिनमा तारबार जाली लगाउने काम भए त्रासदी कम हुने स्थानीयको भनाइ छ।
‘हात्ती आउने ठाउँमा राति लाइटको व्यवस्था भए, पक्की बाटो भए रात्ती भाग्न पनि सजिलो हुन्थ्यो, हिलो भएको बाटोमा भाग्न सकिँदैन, लडिन्छ,’ खेमराजले भने।
हात्ती आएको सूचना गाउँलेलाई दिन साइरनको व्यवस्था पनि गरिनुपर्ने उनले बताए। ‘गाउँपालिका, प्रहरी कार्यालयमा हात्तीको डरले बाँच्न गाह्रो भयो भनेर धेरै पटक निवेदन दियौं, तर केही सुनुवा भएन र सहयोग पनि पाएनौं,’ उनले भने।
हात्तीको कारणले एक बिगाह जमिनमा लगाएको खेतीपाती नष्ट भएर सबै कागजात पूरा गरेका किसानलाई राष्ट्रिय निकुञ्जले राहत १० हजार मात्रै दिने गरेको उनले बताए।