कर्णाली प्रदेश सरकारले ‘रणनीतिक अस्पताल’ अवधारणा अघि सारेको छ। सामाजिक विकास मन्त्रालयले अहिले सञ्चालनमा रहेका स्वास्थ्य संस्थामध्येबाटै रणनीतिक अस्पताल बनाउने गरी यो अवधारणा अघि सारेको हो।
यस अवधारणामा मन्त्रालयले संघीय सरकार, स्थानीय तह, स्वास्थ्यसँग सरोकार राख्ने विभिन्न सरकारी तथा विकास साझेदार निकायसँग आधारभूत तहको छलफल पनि सुरू गरेको छ।
प्रदेशको स्वास्थ्य सेवा सहज र सुलभ बनाउने तथा स्वास्थ्यसम्बन्धी प्रदेश सरकारको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ रणनीतिक अस्पताल परिकल्पना गरिएको हो।
के हो रणनीतिक अस्पताल? यसले कसरी स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्छ?
हाल कर्णाली प्रदेशमा राजधानी सुर्खेत, जिल्ला सदरमुकाम र सहरोन्मुख क्षेत्रमा सुविधायुक्त सरकारी र निजी अस्पताल छन्। कर्णालीको कठिन भूगोलका कारण ती अस्पतालमा सबै नागरिकको पहुँच हुँदैन।
रणनीतिक अस्पताल भनेको भूगोल जनसंख्या, यातायातको सहजता लगायतका आधारमा स्वास्थ्य संस्थाहरू छनोट सेवा अभिवृद्धि गर्ने हो।
उहाहरणका लागि, सिंजा उपत्यकामा एउटा प्राथमिक स्वास्थ्यचौकी छ। त्यहाँ उपचार पाउन नसक्ने अवस्थामा जुम्ला सदरमुकाम वा कालीकोट सदरमुकाम पुग्नुपर्छ जो निकै टाढा पर्छ।
सिंजाको प्राथमिक स्वास्थ्य केन्द्रले आकस्मिक उपचार दिन सक्ने गरी विकास गर्नु रणनीतिक अस्पताल बनाउनु हो।
आवश्यकता भएको ठाउँमा बर्थिङ सेन्टर छैन वा भए पनि उपकरण, जनशक्ति वा अन्य हिसाबले सेवा दिन सक्ने अवस्था छैन भने पायक पर्ने ठाउँको स्वास्थ्य संस्थामा त्यस्तो सुविधा विकास गर्नु रणनीतिक अस्पतालको ध्येय हो।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार रणनीतिक अस्पताल अवधारण भनेको नयाँ अस्पताल स्थापना गर्ने होइन; जनसंख्या, भूगोल र अन्य आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्ने र सेवामा पहुँच बढाउनु हो।
उनी भन्छन्, ‘यही रणनीति अनुसार तीनै तहका सरकार र सरोकारवालाको समन्वयमा काम गर्दा स्वास्थ्य सेवामा पहुँच वृद्धि हुन्छ।’
प्रस्तावमा तत्काल १२ वटा स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रूपमा विकास गर्ने भनिएको छ। यद्यपि छलफलको निष्कर्षका आधारमा यसमा थपघट हुन सक्छ।
सुर्खेतको पश्चिम क्षेत्रमा रहेको सालकोट अस्पताल, दैलेखको दुल्लु अस्पताल, राकम कर्णाली स्वास्थ्य चौकी, जाजरकोट पूर्वी क्षेत्रको नलगाड नगर अस्पताल, रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल र मुगुको खत्याड प्राथमिक स्वास्थ्य केन्द्रलाई रणनीतिक अस्पताल बनाउने प्रस्ताव छ।
डोल्पाको मुड्केचुला स्वास्थ्य चौकी, जुम्लाको कनकासुन्दरी स्वास्थ्य चौकी, कालीकोटको रास्कोट अस्पताल, सल्यानको थारमारे प्राथमिक स्वास्थ्य चौकी, वनगाड नगर अस्पताल र हुम्लाको अदानचुली स्वास्थ्य चौकीलाई पनि रणनीतिक अस्पताल बनाउने भनिएको छ।
जनसंख्या, निर्वाचन क्षेत्र, राजमार्गको पहुँच र बिरामीको चाप प्रक्षेपणका आधारमा उपर्युक्त स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ।
स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न विभिन्न क्षेत्रमा रणनीतिक अस्पतालको आवश्यकता महसुस गरिएको मन्त्री भण्डारीको भनाइ छ।
उनका अनुसार विकट भूगोलका बासिन्दाले आकस्मिक उपचार सेवा नपाउने र ज्यान गुमाउनु पर्ने अवस्था न्यूनीकरण गर्न रणनीतिक अस्पताल महत्त्वपूर्ण हुनेछ।
‘दुर्घटना वा अन्य कुनै कारणले दुर्गममा मृत्यु भएमा पोस्टमर्टमका लागि सदरमुकाम पुग्नुपर्छ। यसले गर्दा मृत्युपछि पनि आफन्तले कष्ट भोग्नु परेको छ,’ मन्त्री भण्डारी भन्छन्, ‘रणनीतिक अस्पतालको अवधारणा लागु भएपछि भने पोस्टमर्टमका लागि पनि दुर्गममै जनशक्ति र प्रविधि थप गरिन्छ।'
अस्पताल र बिरामी बीच दूरी धेरै भएकाले उपचार पाउन धेरै समय लाग्ने समस्या समाधान गर्न सदरमुकामभन्दा बाहिर रणनीतिक अस्पताल जरूरी ठानिएको उनले बताए।
उनका अनुसार ग्रामीण भेगमा भएको स्वास्थ्य चौकीमा उपकरण र जनशक्ति कम हुन्छ। तर ती भेगका मानिसलाई ठूलो उपचारका लागि सदरमुकाम जानुपर्छ, तर टाढा पर्छ। त्यस्तो भेगको मध्य भागमा पर्ने स्वास्थ्य चौकीलाई रणनीतिक अस्पताल बनायो भने जनशक्ति र उपकरण थपिन्छ। नागरिकलाई अपरेसन गर्नुपर्ने अवस्थामा बाहेक सदरमुकाम जानुपर्दैन।
एक संघीय निर्वाचन क्षेत्रमा कम्तीमा एउटा अस्पताल सञ्चालको अवधारणा पनि रणनीतिक अस्पतालसम्बन्धी प्रस्तावले समेटेको छ।
स्थानीय तह, प्रदेश र संघ सरकारको साझेदारी मोडलमा अस्पताल सञ्चालन गरी दीगो विकास लक्ष्य प्राप्तिमा योग्दान गर्ने विषय पनि उक्त प्रस्तावमा समेटिएको छ।
प्रस्ताव गरिएका रणनीतिक अस्पतालहरू मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, कर्णाली राजमार्ग, भेरी करिडोर, कर्णाली करिडोर र अन्य सडकमार्ग नजिक पर्छन्।
यी स्वास्थ्य संस्था रणनीतिक अस्पतालका रुपमा विकास गरिएमा आठ लाखभन्दा बढी जनसंख्यालाई नियमित सेवा दिन सक्ने अनुमान छ।
यी अस्पतालबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका ४४ वटा स्थानीय तहका बासिन्दाले स्वास्थ्य सेवा पाउनेछन्। यी स्थानीय तह सदरमुकाम र सहरी क्षेत्रमा भएका ठूला अस्पतालको पहुँचबाट निकै टाढा छन्।
रणनीतिक अस्पताल स्थापनाका तीन वटै तहले निर्वाह गर्नुपर्ने भूमिका पनि प्रस्ताव गरिएको छ।
संघ सरकारले जनशक्ति र पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने; प्रदेश सरकारले सञ्चालन, व्यवस्थापन, क्षमता विकास, समन्वय तथा सहजीकरण गर्ने प्रस्ताव छ। स्थानीय तहले स्थानीय स्रोत व्यवस्थापन, समन्वय तथा सहकार्य गर्ने प्रस्ताव छ।
स्वास्थ्य क्षेत्रमा छात्रवृत्ति सेवामा पढेका जनशक्तिलाई सरकारको नियमानुसार रणनीतिक अस्पतालमा करार गर्ने गरी संघीय स्वास्थ्य मन्त्रालयसँग छलफल भएको उनले बताए। छलफलमा मन्त्रालयका अधिकारीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
रणनीतिक अस्पतालले गाउँबाट सहरी क्षेत्रमा हुने बसाइँसराइ पनि रोक्न सक्ने मन्त्री भण्डारी बताउँछन्।
‘पढ्न भनेर छोराछोरी सहर जान्छन्। अभिभावक वृद्धावस्थामा उपचारमा सहज होला सहर भनेर जान्छन्। यसले नै बसाइँसराइ बढाएको हो,’ उनी भन्छन्, ‘गाउँमै शिक्षा स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सकियो भने धेरै हदसम्म बसाइँसराइ रोक्न सकिन्छ।’
उनका अनुसार तत्काल अन्य मुलुकबाट आउने केही स्रोत रणनीतिक अस्पतालमा प्रयोग गर्ने विषयमा छलफल चलेको छ।
रणनीतिक अस्पतालसम्बन्धी प्रस्तावमा छलफल टुंगिएपछि कार्ययोजना बनाएर सामाजिक विकास मन्त्रालयको समन्वय समितिमार्फत अघि बढ्ने मन्त्री भण्डारीले बताए।
‘रणनीतिक अस्पतालमा कति शय्या भन्ने भन्दा पनि नागरिकलाई स्वास्थ्य सेवा मुख्य हो। सेवाका लागि जनशक्ति व्यवस्थापन मुख्य मानेर रणनीतिक अस्पताल बनाउने हो,’ उनी भन्छन्, ‘नभई नहुने आधारभूत तहको स्वास्थ्य सेवा पूर्ण र नियमित रूपमा दिनू नै रणनीतिक अस्पताल विकासको मुख्य उद्देश्य हो।’
रणनीतिक अस्पतालमा क्षमता विकासको तालिमसहित जनशक्ति व्यवस्थापन गर्न तथा आवश्यक उपकरण र स्रोत व्यवस्थापन गर्न प्रदेश सरकार केन्द्रित हुने छ।
हाल कर्णाली प्रदेशमा प्रतिष्ठान, प्रदेश अस्पतालसहित एक हजार ८४६ वटा सेवाप्रदायक स्वास्थ्य संस्था छन्।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतमा प्रदेश अस्पताल, सुर्खेतमै मेहलकुना अस्पताल, आठ वटा स्वास्थ्य सेवा कार्यालय र आठ वटा जिल्ला अस्पताल छन्।
स्थानीय तहमा २३ वटा प्राथमिक अस्पताल र तीन वटा सामुदायिक अस्पताल छन्।
सात वटा निजी अस्पताल, ३३१ स्वास्थ्य चौकी, १०१ वटा सामुदायिक स्वास्थ्य इकाइ र २५ वटा सहरी स्वास्थ्य क्लिनिक लगायत स्वास्थ्य संस्था छन्।