दसैंका लागि काठमाडौंमा खसी, बोका र च्याङ्ग्रा बिक्री सुरू भइसकेको छ।
सरकारी तवरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीको बिक्रीवितरण सुरू गरेको छ। खाद्यले केन्द्रीय कार्यालय थापाथलीबाट खसीबोका र च्याङ्ग्राको बिक्री वितरण गर्छ।
खाद्यबाहेक काठमाडौं उपत्यकामा विभिन्न ठाउँहरूमा निजी तवरबाट व्यवसायीहरूले दसैँमा खसीबोका बिक्री गर्ने गरेका छन्।
खसीबोका बिक्रीका लागि राखिने ठाउँहरू स्थानीय सरकारले निर्धारण गरिदिएको छ।
काठमाडौंमा कलंकी, बागबजार नजिकको टुकुचा, टोखा, कपन, सुकेधारा, बल्खु, चन्द्रागिरि लगायतका स्थानमा निजी तवरले खसीबोका बिक्रीवितरण हुन्छ।
स्वस्थ माछामासु खान पाउनु उपभोक्ताको अधिकार हो। उपभोक्ता हित संरक्षण ऐनले त्यसको सुनिश्चितता हुनुपर्छ भन्छ। चाडबाडका लागि ल्याइने खसीबोका र च्याङ्ग्रा स्वस्थ हुन्छन् कि हुँदैनन्? त्यसका आधार के हुन्? स्वस्थ भएको पहिचान कसरी गर्ने भन्ने विभिन्न विषयवस्तुको चासो ग्राहकहरूमा हुन्छ।
यसबारे हामीले पशु सेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग कुरा गरेका छौं।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी खाद्यले स्वस्थ खसीबोका र च्याङ्ग्रा मात्रै विक्रीवितरण गर्ने बताउँछिन्।
न्यौपानेका अनुसार खाद्यले यसपालि मकवानपुर, नवलपुर र दाङबाट मात्रै खसीबोका ल्याएको छ।
३०० च्याङ्ग्रा मुस्ताङबाटै ल्याइएको छ।
दसैभरिमा १५ सय हाराहारीमा खसीबोका ल्याउन लागिएको छ। ती खसीबोका किन्नका लागि तीन वटै जिल्लामा रहेको खाद्यको शाखा कार्यालयका कर्मचारी खटिएका थिए। भेटेनरी डाक्टरसहित खटिने कर्मचारीहरूले खसी स्वस्थ रहे वा नरहेको जाँच गर्ने र स्वस्थ खसीमात्रै किन्छन्।
'किनिएका खसी ढुवानीका लागि टेण्डर गरिन्छ। ढुवानी गर्नेले काठमाडौंसम्म खसी सुरक्षित ल्याउनुपर्छ। काठमाडौं पुर्याउँदा खसी बिरामी वा घाइते छ भने त्यस्ता खसी खाद्यले लिँदैन,' उनले भनिन्।
काठमाडौं झारेपछि पनि एकपटक पुनः खसीबोका स्वस्थ रहे वा नरहेबारे भेटेनरी डाक्टरहरूले हेर्ने उनले बताइन्।
'स्वस्थ छ भने बिक्री वितरणमा राखिन्छ। थोरै अस्वस्थ छ भने पनि छुट्टै खोरमा राखिन्छ र उपचार गरिन्छ। लामो यात्राका कारण खसीबोका सामान्य बिरामी हुन सक्छन्, त्यस्तालाई छुट्टै राखेर उपचार गरिन्छ,' न्यौपानेले भनिन्।
त्यतिमात्रै ढुवानी कसरी गरिएको छ भनेर ठाउँठाउँमा चेकजाँच पनि हुने उनले बताइन्।
'किनिएको समयदेखि बिक्री गर्ने बेलासम्म भेटेनरी डाक्टरहरूको नियमित निगरानी हुन्छ। अस्वस्थ खसीबोका बेच्दै बेच्दैनौं,' उनले भनिन्।
खाद्यसँगै काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा व्यवसायीहरूले बिक्री वितरण गर्ने पशुको हकमा भने स्वस्थ छ/छैन भन्ने निर्क्योल पशु सेवा विभागले गर्छ।
विभागका पशु विकास अधिकृत सीताराम वलीका अनुसार काठमाडौं उपत्यकाभरिका पशु बजारमा विभागले भेटेनरी डाक्टरसहितका टोली खटाएका हुन्छन्।
विभागले उपत्यकाभरिका पशु बजारहरूलाई १० क्षेत्र छुट्याएर अनुगमनमा टोली खटाउँछ।
कलंकीको खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा र खाद्य संस्थानको खसीबजार, टोखा,कपन र सुकेधाराको खसीबजार, लोकन्थलीको पशुबजार, सल्लाघारीको च्याङग्राबजार, चोभार-चाल्नाखेल राँगाबजार, चन्द्रागिरि थानकोट डिपोको पशुबजार र बल्खु-कालीमाटी माछाबजार गरी १० क्षेत्र तोकेर १० टोली अनुगमनमा खटिन्छ।
'जनशक्तिले धानेअनुसार एउटा टोलीमा तीन जनासम्म हुन्छन्,' वलीले भने। टोलीले त्यहाँ बिक्री वितरणका लागि राखिएका खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्छ। परीक्षणपछि प्रत्येक पशुको सिङमा रङ लगाउँछ।
'स्वस्थ छ, खानका लागि योग्य छ भने सिङमा हरियो रङ लगाइदिन्छौं। स्वस्थ छैन र खान योग्य छैन भने रातो रङ लगाइदिन्छौं,' वलीले भने।
अस्वस्थ रहेका पशुको पनि दुई तरिकाको अस्वस्थता हुन्छ। उनकाअनुसार केही पशुहरू लामो यात्राको थकानका कारण ज्वरो आएर बिरामी भएका हुन्छन्। केही पशुहरूमा निकै नहुने रोगहरू पनि हुन्छन्।
'सामान्य ज्वरो आएका पशुहरूको पनि सिङमा रातै रङ लगाइदिन्छौं र उपचार गर्न भन्छौं। केही दिन उपचार गरेपछि पुनः स्वस्थ भएपछिमात्रै खान योग्य हुन्छ। गम्भीर प्रकृतिको रोग छ भने विक्रीवितरण मै रोक लगाउँछौं,' उनले भने।
दसैँ तिहारजस्ता चाडवाडको समयमा उपभोक्ताले स्वस्थ मासु खाने सुनिश्चितता गर्न पशु विक्रीवितरण स्थलमा बिहान ७ बजेदेखि निरन्तर टोली खटिइरहने उनको भनाइ छ।
'हुलमुलमा एक दुइटा बिरामी पनि घुसाउँ भन्ने कसैको व्यक्तिगत मनस्थिति हुन सक्छ भनेर छड्के मोडलले २/३ जनाको टोलीले विशेष अनुगमन पनि गर्छौं,' उनले भने।
खाद्यले चेकजाँच नै गरेर बेच्ने भएकाले रङको अर्थ नहुने सूचना अधिकारी सुवेदी बताउँछिन्।
'बिक्री गरेको र नगरेको छुट्याउन पनि रङ लगाइन्छ। कहाँबाट ल्याइएको भन्ने पनि छुट्टै रङ हुन सक्छ। अस्वस्थ भनेर चाहीँ रङ लगाइँदैन। अस्वस्थ, क्वारेन्टिनमा राख्नुपर्ने खसीबोका ल्याउँदैनौं। ल्याएपछि केही भयो भने छुट्टै खोरमा राखिन्छ। खाद्यमा रङको अर्थ राख्दैन। खाद्यबाट बिक्री हुन्छ भने त्यो एकदम स्वस्थ हुन्छ,' उनले भनिन्।