नाबालिगहरूलाई मनोरञ्जन स्थलमा प्रवेश र काम गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-२४ का ३१ वर्षीय सनिप महर्जन र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का २९ वर्षीय सन्देश थापा पक्राउ परेका हुन्।
उनीहरूलाई ठमेलका डान्सबार, क्लबलगायत मनोरञ्जनका स्थानहरूमा उमेर नपुगेका बालबालिकाहरूलाई प्रवेश तथा काममा लगाइएको आरोपमा मंगलबार पक्राउ गरिएको हो।
रात्रिकालीन मनोरञ्जनको क्षेत्रमा बालबालिकाहरूलाई काममा लगाइएको साथै प्रवेश गर्न दिइरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
'नाबालिगहरूलाई पनि उद्धार गरेका थियौं, अभिभावकको जिम्मा लगाएर पठाएका छौं,' उनले भने।
पक्राउ परेका दुई जनाविरूद्ध बालबालिका सम्बन्धी ऐन २०७५ परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी आचार्यले बताए।