चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैं मनाएका छन्। नेपालीहरूको महान चाड बडादसैंमा नेपाली संस्कृतिबारे बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैं मनाएका हुन्।
सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरूलाई टीका र जमरा लगाइदिए। उनले पर्यटकको सेवाका लागि दसैंका दिन पनि होटल खुला राखेको बताए।
फ्रान्स, जर्मन र नेदरल्यान्ड्सका गरी २६ जनाले यहाँ दसैंको टीका र जमरा लगाएका थिए। मोटरसाइकलमा नेपालका विभिन्न ठाउँ घुम्दै दुई दिनअघि मात्र उनीहरू सौराहा आएका हुन्।
'नेपाली नागरिक आत्मीय र मित्रवत छन्, नेपाल देश सुन्दर छ,' फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, 'नेपालीहरूका साथमा दसैं मनाउन पाउँदा खुसी छु।'
नेदरल्यान्ड्सबाट सौराहा घुम्न आएका ३६ वर्षीय पर्यटक जोनी राइटले पनि यसपटक टीका र जमरासँगै नेपालीहरूको पर्व दसैं मनाउन पाउँदा खुसी लागेको बताए।
'मैले अरू साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैं मनाउन पाएँ,' उनले भने।
अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित थिइन्, भनिन्, 'विभिन्न देशका संस्कृति र परम्परा प्रत्यक्ष अनुभव गर्न पाइने भएकाले चाडपर्व बेला घुम्न आउँछु।'
चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरू भइसकेको छ। यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैं मनाउने परम्परा बनाएका छन्।
'हामीले विगतमा पनि पर्यटकहरूलाई सँगै राखेर दसैं मनाएका थियौं,' होटल सञ्चालक गिरीले भने।
पछिल्लो दुई दिनयता तेस्रो मुलुकका झन्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए। पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र होइन्, दसैं, तिहार लगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको उनको भनाइ छ।