यस वर्षको मनसुन शनिबारदेखि पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन शनिबारबाट पूर्ण रूपमा बहिर्गमन भएको हो।
शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो।
यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो। शनिबार भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो।
यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरू भएकामा छ दिनपछि पूर्ण रूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।