दाङमा सहोदर दाइले पेटमा छुरा प्रहार गरी भाइको हत्या गरेको खुलेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी ३१ वर्षीय दाजु पूर्ण तामाङको छुरा प्रहारबाट सहोदर भाइ २८ वर्षीय अनिल तामाङको मृत्यु भएको बताए।
पूर्णले आफू जोगिन भाइ अनिलले आफैले पेटमा छुरा प्रहार गरेको बुवा सोमार र छिमेकीलाई बताएका थिए। त्यही कुरा स्थानीय र बुवा सोमारले प्रहरीलाई पनि बताएका थिए।
डिएसपी ठकुरीका अनुसार पूर्णले घटनापछि प्रहरीलाई समेत झुक्याउन प्रयास गरेका थिए।
डिएसपी ठकुरीले आफैले मृतक अनिलको घाउ खत नियालेपछि शंकास्पद देखेपछि बुवा सोमार र अनिलका दाजु पूर्णलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेका थिए।
घटना अनुसन्धानका क्रममा पूर्णले भाइ अनिलमाथि आफैले छुरा प्रहार गरेको र जोगिनका लागि झुट बोलेको साबिती बयान दिएको डिएसपी ठकुरीले बताए।
घटना मंगलबार बिहान साढे नौ बजेतिरको हो।
पश्चिम दाङको बबई गाउँपालिका– ४ हापुरे बजारमा आफ्नै होटलभित्र पूर्णले भाइ अनिलमाथि आवेशमा आई तीन पटक छुरा प्रहार गरेका थिए।
पूर्ण बुवाआमासँगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गर्दै आएका थिए। अनिल भने भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँबाट असोज २३ गते मात्रै दसैंका लागि भनेर हापुरे बजार आएका थिए।
तामाङ परिवारको घर भक्तपुरको नयाँ गाउँ र दाङको हापुरे दुबै ठाउँमा छ। अनिल विवाहित थिए। उनी श्रीमती र एक सन्तानका साथ भक्तपुरमा बस्दै आएका थिए। भक्तपुरमा उनीहरूको घरसहित तीन रोपनी जग्गा जमिन छ। त्यो बुवाको नाममा छ भने दाङको हापुरेमा घरसहित साढे दुई कठ्ठा जग्गा छ। हापुरे बजारको जग्गा भने आमाको नाममा छ।
असोज २३ गते हापुरेस्थित घरमा आएपछि अनिलले सम्पत्तिको विषयमा बुवासँग धेरै पटक विवाद गरेका थिए। बुवा सोमार भने फुर्सद मिलेपछि अंशबण्डा गरौंला भन्दै थामथुम पार्न प्रयास गर्थे।
घटना भएको दिन असोज २९ गते बिहानै अनिलले मदिरा सेवन गरिसकेका थिए। अनिलले फेरि त्यही हर्कत दोहोर्याउन थाले। दाजु पूर्ण सम्झाउन खोज्छन्। त्यतिखेर पनि अनिलले दाजु पूर्णलाई पनि छुरा उज्याउँछन्। ज्यान मार्ने धम्की दिन्छन्। तर, अनिल थप उग्र बन्दै जान्छन्। त्यति नै बेला आवेशमा आए पूर्णले भाइमाथि अनिलकै हातको छुरा खोसेर तीन पटक पेटमा छुरा प्रहार गरेको पूर्णले बयानमा भनेका छन्।
हालसम्मको अनुसन्धानबाट घटनामा बुवा सोमारको कुनै संलग्नता नदेखिएको डिएसपी ठकुरीले बताए।
इप्रका तुलसीपुरको हिरासतमा रहेका बुवा सोमारलाई प्रहरीले आवश्यक परेको समयमा उपस्थित हुने शर्तमा बुधबार नै रिहा गर्ने तयारी गरेको छ। भाइलाई छुरा प्रहार गरी हत्या गर्ने दाजुका विरूद्ध भने कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
अनिलकी श्रीमती सुन्दरी तामाङ भक्तपुरबाट बुधबार मात्रै तुलसीपुर आइपुगेकी छन्। उनैले श्रीमानको हत्या गर्ने जेठाजूविरूद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
अनिलको शव श्रीमती सुन्दरीले नै बुझ्ने कुरा भइरहेको भए पनि सदगतका लागि भक्तपुर लैजान्छन् वा के गर्छन् भन्ने खुलिनसकेको प्रहरीले बताएको छ।
शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।