संघीय राजधानी काठमाडौंमै डेंगी परीक्षणका लागि कीट अभाव भएको छ।
काठमाडौंमा बिहीबारसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८३२ पुगेको छ। यो संख्याले काठमाडौं सबैभन्दा बढी प्रभावित जिल्ला रहेको देखाउँछ तर काठमाडौंमै डेंगी परीक्षण गर्ने कीट अभाव रहेको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
कार्यालयकी सूचना अधिकारी शारदा चापागाइँले डेंगी परीक्षणका लागि कीट अभाव भएको बताएकी छन्।
'काठमाडौंका अस्पतालहरूमा १०/१५ दिनदेखि डेंगी कीटको अभाव छ। 'कीट नभएर अस्पताल आउनेहरूको डेंगी परिक्षणमा ढिलाइ भइरहेको छ,' उनले भनिन्।
उनकाअनुसार कीट नभएकाले डेंगीको संकेत देखेर आउने कतिपय बिरामी परीक्षण नै नगरी फर्किनुपरेको अवस्थासमेत छ।
काठमाडौंमा आधारभूत स्वास्थ्य चौकी र सामुदायिक अस्पताल गरी १४८ स्वास्थ्य संस्था छन्।
चापागाइँले काठमाडौंकै विभिन्न स्थानीय तहका अस्पताल र स्वास्थ्य संस्थाहरूमा कीट अभाव हुँदा परीक्षण गर्न नसकिएको गुनासो आउन थालेको बताइन्।
कार्यालबाट मन्त्रालय हुँदै खरिद प्रक्रियामा ढिलाइ हुने भएकाले स्थानीयतह आफैँलाई कीट खरिद गर्न भनिएको चापागाइँले बताइन्।
निजी अस्पतालहरू धेरै रहेकाले काठमाडौंमा उपचारमा भने समस्या नरहेको उनी बताउँछिन्।
'दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित भेटिएका छन्। तीमध्ये १० प्रतिशतमात्र भर्ना हुने भएकाले बेडको अभाव छैन,' उनले भनिन्।
कीट खरिदका लागि स्वास्थ्य कार्यालयले पनि प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिइन्।
काठमाडौंमा बिहीबारसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८३२ पुगेको छ भने २ जनाको मृत्यु भएको छ।
तीमध्ये काठमाडौं महानगरपालिकामा मात्रै ३ हजार ५९ जना संक्रमित भेटिएका छन्। टोखा नगरपालिकामा २६२, कीर्तिपुरमा २२०, बूढानीलकण्ठ १४३, कागेश्वरी ९९ जना संक्रमित संख्या रहेको स्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक छ।
डेंगी ७६ वटै जिल्लाहरूमा फैलिएको छ।
तीमध्ये काठमाडौं, कास्की, तनहँ र पर्वत गरी चार जिल्ला बढी प्रभावित छन्। हामीले यी चारै जिल्लाका स्वास्थ्य कार्यालयहरूसँग ती जिल्लाहरूमा डेंगीको उपचारबारे बुझेका छौं।
काठमाडौंजस्तै डेंगी व्यापक फैलिएको अर्को जिल्ला हो, तनहुँ। तनहुँमा बुधबारसम्म २ हजार ९३८ जना डेंगी संक्रमित भेटिएका छन्।
तनहुँका १० स्थानीयतहमध्ये सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा डेंगी संक्रमित भेटिएका छन्। जसमा १ हजार ३१५ जना, दोस्रोमा व्यास नगरपालिका पर्छ। जसमा ९८१ जना संक्रमित छन्।
त्यस्तैगरी शुक्लगण्डकी नगरपालिका ३३६, देवघाट गाउँपालिकामा ६३, भानु नगरपालिका १०, बन्दीपुर गाउँपालिकामा ३, घिरिङ गाउँपालिकामा ४, म्याग्दे गाउँपालिका ४२, जना संक्रमित रहेको गण्डकी स्वास्थ्य कार्यालयको तथ्यांक छ।
सडक निर्माण तथा जताततै पोखरी निर्माण, पुन: निर्माणको काम भइरहेकाले डेंगी संक्रमित संख्या बढिरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
'दैनिक १५/२० जना डेंगी संक्रमित भेटिएका छन्, त्यसैले अहिले कुनैपनि स्वास्थ सामाग्री र भौतिक पूर्वधारको अभाव छैन,' उनले भने, 'संक्रमित संख्या बढेकाले नीजि अस्पतालहरूले पनि चेकजाँच गरिरहेका छन्।'
उनले थपे- 'तत्काल घट्ने सम्भावना छैन। तर गत वर्षको तुलनामा संक्रमित संख्या कम छ।'
उनका अनुसार गत वर्ष दैनिक एकसय बढी संख्यामा संक्रमित संख्या भेटिएका थिए। अहिले त्यो अवस्था आइसकेको छैन। त्यसैले अहिले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
'बिरामीले उपचार नपाएको र बेड नपुगेको भन्ने कुरा सत्य होइन। हाम्रोमा स्वास्थ्य समग्री र बेड दुवै छ,' उनले भने, 'तनहुँमा बिरामीले बेड पाएनन् भन्ने कुरा सत्य होइन।'
त्यस्तै पर्वतमा भौतिक तथा स्वास्थ्य सामाग्रीको अभाव नभएको स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्माले जानकारी दिए।
उनका अनुसार पर्वतमा दिनहुँ डेंगी संक्रमित संख्या बढ्दै गइरहेको छ।तर अहिलेसम्म अस्पतालमा नअटाउने र उपचार नै नपाउने अवस्था नरहेको बताए।
जिल्लाका सातवटा स्थानीयतहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिका डेंगी संक्रमित छन्। जिल्लाभरिमा १ हजार ५६२ संक्रमित छन्। त्यसमध्ये ७ सय संक्रमित कुश्मामा मात्रै छन्।
कुश्मा बजार क्षेत्र भएको र बाक्लो संख्यामा मानिसहरू बसोबास गर्ने भएकाले त्यहाँ डेंगी बढी फैलिएको हुनसक्ने शर्मा बताउँछन्।
फलेवास नगरपालिका र पैयू गाउँपालिकामा डेंगी फैलिएको छ। तीबाहेक अन्य स्थानीय तहमा फाट्टफुट्ट संक्रमित देखा परेका छन्।
'अहिलेसम्म कुनैपनि डेंगी संक्रमितले औषधी उपचार नपाएको भन्ने जानकारी प्राप्त भएको छैन,' उनले भने।
जिल्लाभित्र ३ वटा आधारभूत र एउटा जिल्ला अस्पताल छ। जिल्ला अस्पताल कुश्मामा डेंगी संक्रमितको संख्या बढेपनि बुधबारसम्म संक्रमितले कुनैपनि समस्या भोग्नुपरेको छैन। पानी पर्न कम भएकाले अब अभाव झेल्नु नपर्ने उनको भनाइ छ।
संक्रमित संख्याको १५ प्रतिशत मात्र भर्ना हुने भएकाले बेडको अभाव नभएको जिल्ला अस्पताल कुश्माका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिए।
उनका अनुसार साउनदेखि असोज ३० गतेसम्म जिल्ला अस्पतालमा मात्र २ हजार ५४३ जनाको डेंगी परिक्षण भएको थियो। त्यसमा १२ सय ५७ जना डेंगी संक्रमित भेटिएका छ। भने बाँकी ३ सय जिल्लाभित्रका नीजि मेडिकल र स्वास्थ्यचौकीले परीक्षण गरिरहेका हुन्।
'एक महिना अघिसम्म इमर्जेन्सीमा २०/२५ जनासम्म परिक्षणका लागि आएका थिए, तीमध्ये १०/१२ जनामा संक्रमित भेटिन्थ्यो। अहिले विस्तारै घटिरहेको छ,' सुपरिटेण्डन्ट बाँस्तोलाले भने, 'इमर्जेन्सी बेड अभाव भएपनि भर्ना गरेर राख्न कुनै समस्या भएको छैन।'
इमर्जेन्सीमा ८ वटा मात्र बेड छ। बिरामीले भर्ना नएसम्म प्राथमिक उपचारका लागि त्यही राख्नुपर्ने हुन्छ। त्यसैले त्यहाँ कहिलेकाहीँ एउटा बेडमा दुई जना राख्नुपर्ने बाध्यता आउँछ। तर उपचार नगरी नफर्काएको सुपरिटेण्डन्ट बास्तोलाको भनाइ छ।
उनकाअनुसार भर्ना भएपछि अस्पतालले ५०/६० जनालाई राख्नसक्छ।
'बुधबार २५/२६ जनाको परीक्षण हुँदा आधामा डेंगी संक्रमित भेटिएका छन्,' उनले भने,' त्यसमा भर्ना नै गर्नुपर्ने दुईचार जनामात्र छन्, धेरैजसो संक्रमित आफ्नो दैनिकी पूरा गरिरहेका छन्।'
कास्की जिल्लामा भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरे भन्दा दोब्बर संख्यामा संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ।
महाशाखाले २ हजार ८ सय तथ्यांक सार्वजनिक गरेको छ। भने गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा यस वर्ष ६ हजार ९८२ जना संक्रमित संख्या छन्।
यस वर्षमात्र कास्कीमा ७ जना डेंगीका कारण मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयका प्रवक्ता सुरज गुरौले जानकारी दिए।
उनकाअनुसार पोखरा महानगरपालिकामा ६ हजार ८८१ जना, माछापुच्छे गाउँपालिकामा ४७ जना, अन्नपूर्णमा १८ जना, रूपा गाउँपालिकामा १७ जना र मादी गाउँपालिकामा १२ जना संक्रमित छन्।
'अहिले दैनिक एक सय बढी संक्रमित संख्या भेटिएको छ तर उपचारका लागि कुनै समस्या छैन,' जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत यम बरालले भने, 'जिल्लाभित्र आधारभूत स्वास्थ्यचौकी, सामुदायिक र अस्पताल गरेर सयभन्दा बढी छन्। त्यसैले अहिले बिरामीले उपचार नभएको भन्ने गुनासो कतैबाट पनि सुनिएको छैन।'
बाग्लुङ तथा पर्वतका स्थानीयसमेत उपचारका लागि पोखरा आउँछन्। त्यसैले कास्कीमा संक्रमित संख्या धेरै देखिएको अधिकृत बरालको भनाइ छ।